नेपालमा कोरोना देखिएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएकाहरू छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । उनले यसअघि संसद्‍मा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठकलाई सम्बोधन गर्दै भने, ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’

भारतबाट मान्छे नेपाल प्रवेश गरेपछि बाढी जसरी कोरोना संक्रमित बढेको ओलीको भनाइ थियो । भारतबाट दैनिक हजारौंको संख्यामा नागरिक आएपछि एकैपटक ठूलो संख्यामा पीसीआर र आरडीटी टेस्ट गर्नु परेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारतबाट ठूलो संख्यामा नागरिक आएपछि क्वारेन्टाइनमा राख्नुपरेको धारणा राखेका थिए ।

ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताए। उनले अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले मृत्यु हुन पुगेको बताए । त्यस्तै नेपाल बाहिर रहेका १२७ नेपालीले कोरोनाबाट ज्यान गुमाएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्रीले भारतबाट आएकाहरू नेपालका क्वारेन्टाइनमा संक्रमित नभएर उतै कोरोना लागेर आएका बताए । ‘नेपालमा क्वारेन्टाइन गुणस्तरीय नभएका कारण संक्रमित भएका होइनन् । भारतबाट आउँदाआउँदै, ट्रेनमा कोचाकोच गरेर आउँदा र उतै संक्रमित भएका आएका हुन सक्छन्,’ उनले भने ।

भारतबाट वैशाखमा नेपाल प्रवेश गर्नेको संख्या ७ हजार रहेकोमा जेठमा त्यो संख्या २ लाख २२ हजार ६ सय पुगेको र पछिल्लो समय दैनिक ८ हजारसम्म व्यक्ति नेपाल प्रवेश गरिरहेको उनले बताए ।

नेपालीमा प्रतिरोधको क्षमता बढी भएकाले कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या न्यून हुने उनको भनाइ छ ।

एक पटक पढ्नुहोस