राष्ट्रियताबारे संसद्‍मा असाधारण राष्ट्रिय एकता देखियो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा संघीय संसद् प्रतिनिधिसभामा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले नेपाली राजनीतिक दलहरू जनताको भावनाअनुसार चलेको प्रष्ट भएको बताए ।

धानमन्त्री ओलीले भने, ‘हिजो संसदमा साधारण राष्ट्रिय एकता देखियो, जो अत्यावश्यक छ । आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न राष्ट्रियताको सवालमा कोरोनाको सवालमा र यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठेराहरूको समाना गर्न तयार छौं भन्ने देखिएको छ ।’

भौगोलिक अखण्डता कायम गर्नका लागि सबै राजनीतिक दल जनताको भावनाअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो । संसदीय प्रणाली र बहुदलीय व्यवस्थामा राष्ट्रिय एकता विरलै देखा पर्ने भए पनि नेपालका राजनीतिक दलहरूले भने पटकपटक यसरी राष्ट्रिय एकताको प्रदर्शन गरेका देखाएको प्रधानमन्त्रीले दाबी गरे । ‘हाम्रो संसद् यस मामिलामा अत्यन्तै गम्भीर छ । परेका बेला राष्ट्रिय समस्याहरूसँग जुध्न, राष्ट्रका सामू साझा चुनौतीको सामना गर्न जिम्मेवार छ र एकताबद्ध ढंगले बढ्न तयार छ । एकता भएर अगाडि बढ्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ,’ ओलीले भने ।

नेपालको राष्ट्रियताको बारेमा संसद्बाहिर पनि एकता देखा परेको प्रधानमन्त्रीको भनाइ छ । बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक जीवनका सबै क्षेत्र र संघसंस्थाहरूमा पनि राष्ट्रिय एकता देखा परेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले भने, ‘हाम्रा पुर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्रै हाम्रो भौगोलिक अखण्डता स्थापना गर्न सक्छौं । आज अड्ने कुरामा एकता देखिएको छ । संसदले जनताको भावना मुखरित र प्रतिबिम्बित गरेको छ ।’

संविधान संशोधनका विषयमा देखा परेका असहमतिले पनि राष्ट्रियताको विषयमा ल्याइएको प्रस्ताव अगाडि बढाएको प्रधानमन्त्रीले बताए ।

संविधान संशोधन र राष्ट्रियताको बारेमा भएको कामको जस कसले लिने भन्नेमा कुनै विवाद नभएको भनाइ प्रधानमन्त्रीको भनाइ छ । ‘यो हामीले कसले जस लिने, कसले श्रेय लिने भन्ने होइन । यो नेपाली भावना हो । सबैले बेलाबेला उठाएका छौं । जनताले र विज्ञले आफ्नै हिसाबले खोज अनुसन्धान गरेका छन् । तथ्यहरू खोजेका छन् । स्थापित गरेका छन्,’ उनले भने, ‘यसमा हामीले कसैले जस पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन, कोही जसबाट छुट्ला कि भन्ने चिन्ता लिन पनि पर्दैन । यो संसद्को सामूहिक प्रयत्न हो । सबैका भावना यसमा समाहित छन् ।’

प्रतिनिधिसभाको मंगलबारको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नेपालले नक्सा जारी गरेको थियो । उक्त नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो । उक्त विधेयकमा सबै दलहरूले सहमति जनाएका छन् ।

मंगलबारको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसदहरूले कुनै व्यक्तिको देवत्वकरण नगर्न सत्तारुढ दलका नेताहरूलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले भने यो विषयमा सबै दलहरूसँग मिलेर जाने बताएका छन् ।

एक पटक पढ्नुहोस