स्याङ्जामा क्वारेन्टिन सरसफाई गर्ने दम्पतीलाई नै कोरोना संक्रमण

स्याङ्जाको गल्याङमा रहेको क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । उनीहरु श्रीमान–श्रीमती हुन् ।

योसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताएका छन् ।

‘जनस्तरमा सचेतना अपनाउन सकिएन भने कोरोनाले झन विकराल रुप लिने अवस्था सिर्जना हुँदैछ । आज संक्रमित भएका दुईजना गल्याङ क्वारेन्टाइनमा सरसफाई गर्नेहरु हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टिनमा राख्ने र पीसीआर टेष्ट गराउने तयारी हुँदैछ,’ क्षेत्रीले भने ।

संक्रमितहरु ४५ वर्षीय महिला र ६६ वर्षीय  पुरुष रहेको स्याङ्जा जिल्ला अस्पतालका प्रमुख यमप्रसाद शर्माले बताए  । शर्माकाअनुसार उनीहरुलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी गरिएको छ ।
सो क्वारेन्टिनमा अहिले ९५ जना बस्दै आएको गल्याङ नगरपालिकाका प्रशासकिय अधिकृत इश्वरी प्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार संक्रमित दम्पत्तीले काम नभएको बेला काम गर्ने इच्छाशक्ति देखाएपछि क्वारेन्टिन सरसफाइको काम दिइएको थियो ।

अहिलेसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १९२ पुगेको छ ।

एक पटक पढ्नुहोस