सदा मृत्यु प्रकरणः सहमतिपछि ७ दिनमा गरियो शवको पोष्टमार्टम

जनकपुर । प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत भेटिएका शम्भु सदाकोे शवको ७ दिनपछि पोष्टमार्टम गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषा र मुसहर समुदायबीच सहमति भएपछि उनको शवको पोष्टमार्टम गरिएको हो । स्थानीय मुसहर समुदायले सदा मृत्यु प्रकरणको अनुसन्धान र क्षतिपूर्तीको माग गर्दै शव चलाउन दिएका थिएनन् । मुसहर समुदायले पोष्टपमार्टम गर्नुपूर्व केहि मागहरु अगाडी सार्दै पोष्टमार्टम कार्य अवरुद्ध गर्र्दै आएका थिए । आन्दोलनरत संघर्ष समिति र स्थानीय प्रशासन बीच ३ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषा र संघर्ष समितिबीच घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गर्ने, मृतकको परिवारलाई क्षतिपूर्तिसहित राहतका लागि तत्काल पहल गर्ने र पीडित परिवारको शान्ति सुरक्षाको ग्यारेण्टी गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सदाको शव दाहसंस्कारका लागि बुधबार प्रादेशिक अस्पताल जनकपुरबाट सबैलास्थित गाउँमा लैजाने तयारी गरिएको संघर्ष समितिले जनाएको छ ।

यता घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा ४ सदस्यीय समिति बनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।  समितिमा मृतक पक्षको तर्फबाट २ जनालाई आमन्त्रित सदस्यको रुपमा राखिन लागिएको छ । उक्त समितिमा १ जना अधिकारकर्मी र अर्का १ जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमु्ख, संघर्ष समितिका पदाधिकारीहरु समेतको सहभागितामा बसेको बैठकले पीडित परिवारलाई तत्काल उचित प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रहरीले शम्भु सदाले आत्महत्या गरेको दावी गर्दै आएपनि पीडित परिवारले भने प्रहरी समेतको मिलेमतोमा हत्या गरिएको आरोप लगाउँदै आएको छ । पीडित परिवारले इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर चन्द्रभुषण यादव लगायतका विरुद्धमा हत्या आरोपमा सरकारी वकिल कार्यालय धनुषामा उजुरी समेत दिएको छ ।

त्यस्तै संघर्ष समितिले धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनाभित्रै शौचालयमा झुन्डिएर एक दलित युवाको मृत्यु भएको घटना सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन–२०७७ सार्वजनिक गरेको छ । स्थानीय स्तरमै तयार पारिएको प्रतिवेदनमा सदाको हत्या भएको निश्कर्ष उक्त समितिले निकालेको छ । त्यस्तै प्रदेश २ सरकारले मृतक परिवारलाई ३ लाख रुपैयाँको क्षतिपूर्ति दिने भएको छ ।

त्यसको लागि पहल भइरहेको मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । केही दिनअघि सदाले चलाएको ट्रयाक्टरले स्थानीय समुन्द्रीदेवी साहलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते साहको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यू भएको थियो । साहको मृत्युपछि सवारी ज्यान मुद्दा लागेका सदालाई ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएको थियो । हिरासतमै  रहेका उनको शव जेठ २७ गते राति २ बजे शौचालयमा भेन्टिलेटरमा झुण्डिएको अवस्थामा बरामद भएको थियो ।

एक पटक पढ्नुहोस