अमेरिकाको यो राज्य कोरोनाको नयाँ केन्द्रविन्दु बन्ने आशंका, १० राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि

अमेरिकाका १० राज्यमा यो हप्ता कोरोनाभाइरसका संक्रमितहरुको संख्या रेकर्ड वृद्धि भएको छ । यसमध्ये एक राज्य कोरोनाभाइरस संक्रमणको नयाँ केन्द्रविन्दू बन्ने खतरा देखिएको छ ।

फ्लोरिडामा बिहीबार मात्र थप ३ हजार २०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । महामारी सुरु भए यता राज्यमा एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो अवसर रहेको राज्यको स्वास्थ्य विभागले जनाएको  । योसँगै राज्यमा कूल संक्रमितको संख्या ८६ हजार पुगेको  ।

फिलेडेल्फिया अस्पताल र पेन्सिलभेनिया विश्वविद्यालयका वैज्ञानिकहरुले फ्लोरिडा अमेरिकामा कोरोनाभाइरस संक्रमणको अर्को केन्द्रविन्दु बन्ने संकेत देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले गरेको प्रक्षेपणमा त्यहाँको अवस्था अझै भयावह हुने देखिएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार फ्लोरिडासँगै अलाबामा, एरिजोना, क्यालिफोर्निया, नेभाडा, नर्थ क्यारोलाइना, ओक्लोहामा, ओरेगन, साउथ क्यारोलाइना र टेक्सासमा पछिल्लो एक हप्तामा कीर्तिमानी रुपमा कोरोनाभाइरसका संक्रमितहरु थपिएका छन् ।

फ्लोरिडामा तीन चौथाई आइसीयू भरिएको र अस्पतालको ७५ प्रतिशत शैय्या पनि भरिसकेको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक अन्तरवार्तामा भाइरसको चुनौतीलाई कम आँकलन गर्दै भाइरस ‘बिस्तारै मर्दै गइरहेको’ दाबी गरे पनि कूल २३ राज्यमा कोरोनाभाइरसको संक्रमणमा वृद्धि भइरहेको देखिएको छ ।

अमेरिकामा २० लाखभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित बनिसकेका छन् भने १ लाख १८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । बुधबार मात्र थप ७५५ जनाले ज्यान गुमाएका थिए ।

एक पटक पढ्नुहोस