रिस उठ्नु स्वभाविक हो, तर ..

निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ।

धेरैजसो अवस्थामा हामीलाई बाहिरी कारणले पनि हामीभित्रको रिसलाई जगाइदिन्छ । अरूको बोली-व्यवहार, अनपेक्षित परिस्थितिहरूको कारण पनि हामीलाई रिस उठ्छ ।

हामी सबैलाई थाहा छ, रिसले राम्रो गर्दैन । न हाम्रो शरीरलाई गर्छ, न बाहिरी माहोललाई । रिसको झोकमा गरिने कतिपय बोली व्यवहार त अरू भयानक हुन्छ । अत्यधिक रिसले हाम्रो मनोवैज्ञानिक स्थिति र जीवनको गुणवत्तालाई नै प्रभावित बनाउन सक्छ ।

त्यसो त रिस वा क्रोधलाई हामी सबैको जीवनकै एउटा हिस्सा मान्छौं । हामीले सोचेभन्दा प्रतिकूल अवस्था आएमा हामीभित्रको रिस जाग्ने गर्छ । मनमा क्रोध पैदा हुन्छ ।

मनोविज्ञहरूका अनुसार बेलामौकामा सानोतिनो रिस उठ्नु स्वाभाविक हो । तर स-साना कुरामा पनि अत्यधिक रिस उठ्नु असामान्य हो । यसले हाम्रो खराब मनस्थितिको संकेत गर्छ । सानोतिनो कुरामा रिसाइरहनु एक मानसिक समस्याको कारण हुन सक्छ । शरीरमा अन्य किसिमको विकार भएमा पनि सामान्य कुरामा रिस उठ्छ।

रिस एक हिसाबले हाम्रो भावना व्यक्त गर्ने तरिका हो ।

तर रिस कुनै समस्याको समाधान होइन । जुन कारणले हामीलाई रिस उठ्छ, जसरी रिस उठ्छ त्यसबाट उन्मुक्ति मिल्ने पनि होइन । रिसाउनु आफैँमा समस्या हो र यसले अरू समस्या पनि पैदा गरिदिन्छ।

जबजब हामी रिसाएको स्थितिमा हुन्छौं, हाम्रो मुटुको चाल अरू बढ्छ । यसले भित्री अङ्गहरूको कार्यसम्पादनमा समेत असर पुर्‍याउँछ । मन र मस्तिष्कलाई उत्तेजित बनाउँछ । यस्तो अवस्थामा हामीले गर्ने आवेगपूर्ण व्यवहार र लिने क्षणिक निर्णयहरू निकै भयानक हुन सक्छ । जब हाम्रो रिस शान्त हुन्छ, त्यसबेला हामीलाई आफैँप्रति पछुतो लाग्न थाल्छ। आफ्नै बोली र व्यवहारप्रति लाज वा दुःख लाग्न थाल्छ। अर्थात् यसले हामीलाई फेरि चिन्ताको अवस्थामा पुर्‍याउँछ ।

त्यसैले त मान्छेहरू रिस नियन्त्रणका अनेक उपाय खोज्ने गर्छन् । कसरी रिसलाई नियन्त्रणमा राख्ने ? कसरी यसबाट मुक्त हुने ? यसको अनेक उपाय खोजिरहेका हुन्छन् । रिस सबै मान्छेभित्र दबिएर रहेको हुन्छ । तर सबैले रिस उस्तै हिसाबले व्यक्त गर्दैनन् वा सबैको रिस उसैगरी प्रकट हुँदैन।

कतिपय व्यक्तिसँग रिस व्यवस्थापन गर्ने उत्कृष्ट कौशल हुन्छ, जसले आफूभित्रको रिस प्रकट हुन दिँदैन । खासगरी आध्यात्मिक चिन्तन गर्ने, योग वा ध्यान गर्ने व्यक्तिहरूले यस किसिमको पद्धतिबारे अभ्यास गरेका हुन्छन्।

तर कतिपय व्यक्ति भने सानोतिनो कुरामा पनि रिस देखाउने गर्छन् । अत्यान्त सामान्य कुरामा पनि धेरै रिसाउने गर्छन् । त्यसो त रिस उठ्नुमा दुई वटा कारणले भूमिका खेल्छ । एक त उक्त व्यक्तिको परिस्थिति र परिवेश । अर्को उक्त व्यक्तिको मनस्थिति र अवस्था ।

जस्तो कसैको घर परिवार राम्रो हुन्छ । सबै एकअर्काका परिपूरक हुन्छन् । सहयोग र सौहार्द्धको वातावरण बन्छ । यस्तो वातावरणमा बस्नेहरूलाई खासै रिस उठ्ने स्थिति आउँदैन । उनीहरूमा सानोतिनो कुरामा रिसाउने प्रवृत्ति विकास हुँदैन ।

अर्कोथरी हुन्छन् जसको परिवारमा कलह छ । आफन्त, छिमेकीहरू अबुझ र मूर्ख छन् । एकअर्काप्रति डाहा गर्ने, कुरा काट्ने, असहयोग गर्ने खालको स्थिति छ । यस्तो वातावरणमा अक्सर मन्छेको रिस पैदा हुन्छ । आफू संयमित हुँदाहुँदै पनि अरूको कारणले रिस उठ्छ ।

यी परिस्थिति बाहिरी माहोल वा अरूको व्यवहारबाट प्रकट हुने गर्छ।

त्यसबाहेक कतिपय व्यक्तिको प्रवृत्ति नै रिसाउने खालको हुन्छ । मनोविकारले ग्रस्त वा अन्य कुनै किसिमको मानसिक कारणले यस्ता व्यक्तिमा रिस पैदा हुन्छ । सानोतिनो कुरामै उनीहरूलाई रिस उठ्छ । रिसलाई नियन्त्रण गर्न सक्दैनन् ।

बहिरी कारण वा भित्री कारण, दुबै हिसाबले हामीलाई रिस उठ्छ । दुवैको एउटै समाधान भनेको आफैँले रिस व्यवस्थापन गर्नु हो। हामीले आफूभित्रबाट रिसलाई पूर्णत: हटाउन सक्दैनौं । तर यसलाई व्यवस्थापन गर्न सकिन्छ । जस्तो कि आफूलाई कुन कुरामा रिस उठ्छ, के कारणले उठ्छ, कस्तो बोली व्यवहार र माहोलले रिस उठ्छ ? यसको समीक्षा गर्ने र सोहीअनुसार सकेसम्म त्यस्ता माहोल उत्पन्न हुन नदिने ।

योग, ध्यान वा सकारात्मक चिन्तन एउटा राम्रो विधि हो, रिस व्यवस्थापनको । रिस उठेको बखत आफूले आफैँलाई कसरी सम्हाल्ने ? मनलाई कस्ता कुरामा मोड्ने ? कसरी भुलाउने ? कसरी खुसीका कुरा र सकारात्मक कुराहरू सोच्ने भन्ने पद्धति योग र ध्यानबाट अभ्यास गर्न सकिन्छ ।

एक पटक पढ्नुहोस