बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !

९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् ।

स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएका हुन् । उनको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ ।

यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने दाबी गरिएको छ । स्थानीय प्रशासनले समेत यो उपकरण प्रभावकारी देखिएको जनाएको छ ।

स्याङ्जाका विभिन्न स्थानीय तहमा उक्त यन्त्रको परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि नगरपालिका तथा जिल्ला प्रशासनले नै अभियानको रुपमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गर्न थालेको छ । यन्त्रका आविष्कारक भविश्वर कोइरालाले अनुमति दिएपछि काठमाडौंमा रहेको महावीर पुनको आविष्कार केन्द्रले पनि उक्त यन्त्रको उत्पादन सुरु गरेको छ ।

बाँदरले सताएपछि

किसानको खेतीबालीमा बाँदरले दुःख दिएको विषयमा भविश्वरले हरेक दिन समाचार हेर्थे र सुन्थे । उनकै जन्मस्थान भिरकोट नगरपालिका ७ बलमता मर्तमासमा पनि बाँदरले निकै दुःख दिन्थ्यो । बाँदरले कृषक आतंकित भएका जिल्लामध्ये स्याङ्जा पनि एक हो । बाली खाएर तथा नखाएका बाली टिपेर मिल्काउने बाँदरबाट छुट्कारा पाउने उपाय निकालेर देशभरका कृषकलाई राहत दिन चाहन्थे भविश्वर ।

‘वन कानुनअनुसार बाँदर मार्न, समाउन वा घाइते बनाउन पाइन्न, तर बाली नष्ट गरेर किसानलाई निकै दुःख दिइरहेको थियो,’ कोइरालाले भने । लकडाउनको फुर्सदमा बाँदरलाई हानि नपुर्याई भगाएर किसान खुसी बनाउने सूत्र खोजी गर्ने काममा आफूले सफलता पाएको उनले सुनाए । यन्त्रको प्रयोग गरेर धपाइएको बाँदर दोहोर्याएर सो क्षेत्रमा नआएको उनको दाबी छ ।

यसरी बन्यो यन्त्र

स्याङ्जा भिरकोट नगरपालिकाका भविश्वर कोइरालालाई बाँँदर धपाउने उपाय खोज्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उमेरले ४२ वर्ष पुगेका उनको मोटर ग्यारेज र हार्डवेयर व्यवसाय छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त यन्त्र बाँदर तर्साउन र भगाउन उपयोगी भएको तथा हतियारको रुपमा प्रयोग गर्ने जोखिम नरहेको बताएको छ

लकडाउनका कारण व्यवसाय ठप्प भएपछि उनले बाँदर धपाउन केही मेसिन बनाउन सकिन्छ कि भनेर ग्यारेजमा सामानहरू खेलाउन थाले । यूपीभीसी पाइपलाई बन्दुक आकारको बनाएर झण्डै डेढ महिनाअघि कोइरालाले पेट्रोल हालेर पहिलो परीक्षण गरे । ६ किलो प्रेसरको यूपीभीसी पाइपमा आर सर्केट, कप्लर र इन्क्याप फिटिङ गरेर उनले बन्दुकको आकार दिएका थिए । सो मेसिनमा कोइरालाले लाइटरबाट आगो लगाए, तर यन्त्र पड्केन ।

जब उनले पेट्रोलको साटो यन्त्रमा कार्बाइड हालेर पुच्छरमा आगो लगाए, त्यो जोडले पड्कियो । भविश्वरका अनुसार २० वटा बन्दुक पड्काए जत्रो आवाज एउटै यन्त्रले निकाल्यो । त्यसपछि उनले सिके कि कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ तर यसबाट कुनै बारुद, छर्रा वा गोली निस्किँदैन ।

ग्यारेजमा गरेको यो अभ्यासपछि भविश्वरले पहिलोपटक बाँदर आएको बेलामा गाउँमा यन्त्रको प्रयोग गरे । ‘बाँदरहरू यसरी भागे कि दोहोर्याएर यन्त्र पड्काएको ठाउँमा आउने हिम्मत नै गरेनन्,’ भविश्वरले भने ।

यन्त्रको तौल एक किलो पनि नहुने र यसले कुनै खालको असुरक्षा ननिम्त्याउने पनि कोइरालाको दाबी छ ।

कृषकलाई सित्तैमा वितरण

वैशाख अन्तिम सातातिर भविश्वर गाउँमै थिए । आफ्नो वरपर बाँदर धपाउन उनले यन्त्रको सफल परीक्षण गरिसके पनि बाहिर चर्चा भएको थिएन । एकदिन प्रमुख जिल्ला अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुखहरूसहितको एउटा बैठक उनको घर नजिकको अस्पतालमा थियो । सोही बैठकमा त्यस क्षेत्रमा भएको बाँदर आतंकबारे चर्चा भएपछि भविश्वरले आफूले बाँदर धपाउने यन्त्र बनाएको सुनाए ।

त्यसपछि जिल्लाका उच्च तहका मान्छेले उनलाई यन्त्र देखाउन आग्रह गरे । उनले घरबाट यन्त्र ल्याएर सबैका अगाडि प्रयोग गरेर देखाए । स्थानीयले पनि उक्त यन्त्रका कारण बाँदरले गाउँ छाडेको कुरा गरेपछि सीडीओ, नगर प्रमुख तथा प्रहरी प्रमुखले यन्त्रको बनावट, सुरक्षा र लागतबारे चासो लिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले उक्त यन्त्र बाँदर तर्साउन र भगाउन उपयोगी भएको तथा हतियारको रुपमा प्रयोग गर्ने जोखिम नरहेको बताएको छ ।

‘मानिसलाई हानि नगर्ने तर बाँदर तर्साउन उपयोगी भएपछि जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरूबाट यन्त्रको माग भएको छ,’ कोइरालाले भने । उनको यन्त्रलाई वालिङ नगरपालिकाले उपयोगी र सुरक्षित भनेर किसानलाई सिफारिस समेत गरेको छ । पहिलो यन्त्र निर्माणको डेढ महिना अवधिमा जिल्लाका धेरैजसो स्थानीय तहले आफूसँग यन्त्र किनेर कृषकलाई सित्तैमा बाँडेको कोइरालाले बताए ।

उनले बनाएको यन्त्र ठूलो, मझौला र सानो गरी तीन प्रकारका छन् । मूल्य क्रमशः तीन हजार पाँच सय, तीन हजार र दुई हजार रुपैयाँ पर्ने कोइरालाले जानकारी दिए ।

बाँदर बसाइँ सरे

बाँदर भगाउने यन्त्रले निकै राम्रो काम गरेको स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमा कुमारी क्षत्रीले अनलाइनखबरसँग बताइन् ।

‘बाँदर लाग्ने क्षेत्रमा उक्त यन्त्रको प्रयोगपछि बाँदरहरू बसाइँ सरेको र कृषकलाई राहत मिलेको पाइयो,’ उनले भनिन् । कृषकले वर्षौंदेखि बाँदरबाट खेपेको हैरानी तोड्न यन्त्रले काम गरेपछि नगरपालिकाले किनेर कृषकलाई बाँडेको पनि मेयर क्षत्रीले बताइन् ।

नगरले वन्यजन्तु व्यवस्थापन शीर्षकमा छुट्याएको बजेटमार्फत बाँदर धपाउने यन्त्र किनेर कृषकलाई बाँडेको मेयर क्षत्रीको भनाइ छ । जिल्लाको भिरकोट, वालिङलगायतका स्थानीय तहले पनि यन्त्र खरिद गरेर लगेको कोइरालाले बताए ।

प्रतिलिपि अधिकार दर्ता गरिँदै

यन्त्रको चर्चापछि नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वन कार्यालयले भविश्वरको सिर्जनालाई प्रविधि विकासको रुपमा प्रतिलिपि अधिकारअन्तर्गत उद्योग विभागमा दर्ता गरिदिन सिफारिस गरिदिएका छन् ।

जयलक्ष्मी हार्डवेयर एण्ड सेनिटरी प्रालि पुतलीबजार–११ हेलुका कोइरालाले बाँदर भगाउन तथा तर्साउन बनाएको यन्त्रलाई दर्ता गरिदिन प्रशासन कार्यालयहरूले सिफारिस दिएका हुन् ।

सोही जिल्ला तथा वरपरका क्षेत्रमा उनकै सिप नक्कल गर्दै यन्त्र बनाउन थालिएपछि प्रतिलिपि अधिकारअन्तर्गत दर्ताको प्रक्रिया थालिएको छ । उक्त यन्त्रको माग गर्दै एक दिनमा हजारभन्दा धेरै फोन देशभरिबाट आउन थालेको पनि कोइरालाले बताए ।

देशैभरिको माग धान्न नसकिने भएपछि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबाट पनि उक्त यन्त्र निर्माणको काम थालिएको छ ।

‘काठमाडौं उपत्यका वरपरका जिल्लाहरूबाट यन्त्र माग गर्दै धेरै फोन आएपछि केन्द्रसँग मिलेर काम गर्न महावीर पुनकै प्रस्तावमा यहाँका वैज्ञानिकलाई सबै उपाय सिकाएको छु,’ कोइरालाले भने ।

एक पटक पढ्नुहोस