सूचना प्रविधिको ट्रेन्ड : हाम्रो लक्ष्य कहाँ हो, हामी कहाँ पुग्यौँ ?

काठमाडौं । शक्तिशाली मानिने विश्वका राष्ट्र र व्यक्तिसँग शक्तिका मूलतः ३ आधार हुन्छन् । हतियार, अर्थतन्त्र र सूचना । विगतमा अत्याधुनिक हतियार भएका मुलुकलाई शक्तिशाली मान्ने चलन थियो । विस्तारै अर्थतन्त्रको आकार र आर्थिक क्षमतालाई राष्ट्रको शक्तिको रुपमा परिभाषित गर्न थालियो । पछिल्लो समय शक्तिशाली त्यसलाई मानिन्छ, जोसँग सूचनाको पहुँच पर्याप्त छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक समेत रहेका सूचना प्रविधि क्षेत्रका विज्ञ आनन्दराज खनाल भन्छन्, ‘विश्वका शक्तिशाली व्यक्तिको सूचीमा हामी फेसबुक र गुगलका मालिकहरुलाई देख्छौं, उनीहरु शक्तिशाली हुनुको कारण सूचना हो । उनीहरुले हाम्रो व्यक्तिगत गतिविधिको रियल टाइममा ट्रयाकिङ गरिरहेका हुन्छन्, ती सबै गतिविधिको सूचना उनीहरुसँग सुरक्षित हुन्छ ।’

नेपालसँग भने आफ्नै नागरिकहरुको व्यक्तिगत विवरण समेत पर्याप्त र अद्यावधिक छैन । जिल्ला प्रशासन कार्यालयबाट वर्षौं अघि जारी गरेको नागरिकता र १० वर्षमा एकपटक गरिने जनगणनाकै आधारमा हाम्रा गतिविधिहरु सञ्चालन भइरहेको छ । आईटीविज्ञ खनाल भन्छन्, ‘हामी हतियारमा कमजोर छौं, अर्थतन्त्रमा पनि कमजोर छौं । तर, सूचनाको पहुँचमा पनि हामी कमजोर छौं । हाम्रो कमजोरी एकठाउँमा मात्रै होइन सबैतिर छ । यसमा सुधारमात्रै होइन पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ ।’

सूचना प्रविधि तथ्यांक व्यवस्थापनको एउटा माध्यम हो । तथ्यांक भन्नेबित्तिकै हामी टेबुलको संरचनामा रहेका अंगकणितीय संख्यालाई बुझ्छौं । तर, संसारमा त्यस्तो तथ्यांकको हिस्सा १० प्रतिशत भन्दा पनि कम रहेको विज्ञहरुको भनाइ छ । तथ्यांकलाई वृहत् अर्थमा सूचनासँग जोडेर हेर्न सकिने उनीहरु बताउँछन् । अर्थात् हामीले सुनेका, पढेका, देखेका र अनुभव गरेका सबै विषयहरु सूचना हुन् । प्रविधिको प्रयोगद्वारा त्यसको संकलन, भण्डारण प्रशोधन, विश्लेषण र वितरण गर्नु नै सही अर्थमा सूचना प्रविधिको प्रयोग हो । यसले हाम्रा दैनिक व्यवहारलाई असहजबाट सहज, अनिश्चितबाट निश्चित र खर्चिलोबाट प्रभावकारी बनाउने काम समेत गर्छ ।

सरकारी निकायमा सूचना प्रविधिको प्रयोग

सूचना प्रविधिको क्षेत्रमा राज्यको लगानी ज्यादै न्यून छ । तर पछिल्लो समय सरकारले यो क्षेत्रको लागनीमा ध्यान दिन थालेको छ । नेपाललाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजनाले सबै क्षेत्रको सूचनालाई व्यवस्थित गर्छ । यही फ्रेमवर्कभित्र रहेर नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट गेटवे, नेशनल पेमेन्ट स्वीच जस्ता प्रणाली विकास गरिरहेको छ ।

सूचना प्रविधिले मानवीय व्यवहारका तथ्यांकहरुलाई सूचनाको रुपमा विकास गर्छ । उक्त सूचनाले दैनिक व्यवहारमा सरलता, प्रभावकारिता र विश्वसनीयता वृद्धि गर्छ । डिजिटल नेपालको सपना यही नै हो । तर यो फ्रेमवर्क आफैंमा एउटा पूर्वाधार मात्रै हो । यो डिजिटल नेपालको सपना पूरा गर्ने एउटा माध्यम मात्रै हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी भन्छन्, ‘यो एउटा पूर्वाधार हो । यसमा देशका सबै क्षेत्र र सबै निकायको सूचनालाई व्यवस्थित गर्ने प्लेटफर्म तयार गर्छ ।’

त्यसो त विभिन्न सरकारी निकायले यसअघि पनि सूचना प्रविधिको नवीन प्रयोग गर्दै आएका छन् । बजेट प्रणालीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालयले ल्याएको लाइन मिनिष्ट्रि बजेटरी इन्फरमेसन सिस्टम (एलएमबीआईएस) को प्रयोगपछि अहिले बजेटसम्बन्धी गतिविधि र तथ्यांक व्यवस्थित भएका छन् । बजेट तथा योजनाको मागदेखि कार्यसम्पादनको रिपोर्ट र भुक्तानीको विषयसम्म यो सिस्टमबाट रियल टाइममा हेर्न सकिने व्यवस्था छ ।
आशिकुडा वल्र्ड सिस्टमको प्रयोगपछि अहिले भन्सार कार्यालयको आयात, निर्यात व्यवस्थित भएको छ । आयातनिर्यातका तथ्यांकहरु समेत तत्कालै प्राप्त गर्नसक्ने संयन्त्रको विकास समेत भइसकेको छ । त्यसो त कम्पनीको दर्तादेखि नवीकरण र अन्य सूचनाको अद्यावधिक गर्ने कामहरु समेत अहिले व्यवस्थित भइरहेका छन् । अन्य विभिन्न निकायहरुले समेत सूचनाको भण्डारणका लागि यसको प्रयोग सुरु गरेको देखिएको छ ।

अहिलेसम्म कार्यालय व्यवस्थापन र व्यक्तिगत सूचनालाई व्यवस्थित गर्ने सन्दर्भमा सूचना प्रविधिको प्रयोग नभए पनि त्यसका लागि प्रयास सुरु भएको छ । नेपाल आयल निगमले इन्टरप्राइजेट रिसोर्स प्लान (ईआरपी) प्रविधि मार्फत् आफू मातहतका सबै कार्यालयका सबै प्रकारका गतिविधिलाई अटोमेसनमा लैजाने प्रक्रिया सुरु गरेको छ ।

यो प्रक्रिया सम्पन्न भएपछि कार्यालयभित्रको हाजिरीदेखि प्रत्येक कर्मचारी र स्रोत साधनहरुको प्रयोगको अवस्थाको बारेमा केन्द्रीय सूचना प्रणालीमा रिपोर्टिङ हुनेगरी व्यवस्थापन गर्न लागेको छ । यो परियोजना सम्पन्न भएपछि प्रशासन, लेखा र प्राविधिक तीनै तहमा आधा कर्मचारीबाट अहिलेको कार्यसम्पादन हुने अवस्था बन्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन् । निगममा यो सिस्टमको प्रयोग सम्पूर्ण सरकारी निकायको लागि दृष्टान्त बन्नसक्ने उनको भनाइ छ ।

कम छैनन् निजी क्षेत्र
त्यसो त सूचना प्रविधिको प्रयोग गर्ने विषयका सरकारी निकायभन्दा निजी क्षेत्र अगाडि रहेको विज्ञहरुको भनाइ छ । विश्वमा सफल रुपमा प्रयोग भएका सूचना प्रविधिलाई निजी क्षेत्रले तत्कालै प्रयोगमा ल्याउने गरेका छन् ।

खासगरी वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग निकै अघि बढिसकेको छ । भुक्तानी सेवामा नेपालको वित्तीय क्षेत्र विश्वस्तरमा पुगिसकेको छ । भुक्तानी सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको वित्तीय कारोबारको ‘रियल–टाइम’ सूचना राख्ने गरेका छन् । सोही कारण अहिले वित्तीय क्षेत्रका सूचना तथा तथ्यांकहरु सहज रुपमा पाउनसक्ने वातावरण समेत बनेको छ ।

क्यान फेडेरेसनका अध्यक्ष नवराज कुँवर भन्छन्, ‘राज्यले सूचना प्रविधिलाई पहिचान र नियमन गर्न सुरु गर्नुभन्दा अघि नै नेपालमा निजी क्षेत्रले सूचना प्रविधिलाई भित्र्याउँदै गए । राज्यले त्यसको नियमनका लागि भर्खरै मात्र चासो देखाउन सुरु गर्न थालेको छ । तर सूचना प्रविधिको विकास गर्ने हो भने राज्यको लगानी र सक्रिय सहभागिता चाहिन्छ ।’

पछिल्लो समय अनलाइनमा आधारित व्यवसायहरु समेत निकै बढेर गएको छ । पछिल्लो समय खुलेका सञ्चालनमा आएका इ–सपिङ र इ–कमर्शका सफ्टवेयरहरुले पनि सूचना प्रविधिको प्रयोगद्वारा आफ्नो व्यवसाय विस्तारलाई अघि बढाइरहेका छन् । दराज, हाम्रो बजार, सस्तोडिल जस्ता इ–सपिङ पोर्टलहरुमार्फत् अहिले व्यापार सहज हुँदै गएको अवस्था समेत छ ।

उता टुटल, पठाओ जस्ता एप्लिकेसनहरु सफल रुपमा प्रयोग हुनु र छोटो समयमा लोकप्रियता प्राप्त गर्नु सूचना प्रविधि क्षेत्रको विकासका लागि कोशेढुंगा भएको क्यान महासंघका अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार निजी क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई भरपूर सदुपयोग गरिरहेका छन् । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र अनुसन्धान तथा विकासको कामका लागि अहिले यसको प्रयोग बढ्दै गएको छ ।

हामी किन कमजोर ? 
यति हुँदाहुँदै पनि हामी सूचना प्रविधिमा किन कमजोर छौं त ? हामी कहाँ पुग्न चाहेका हौं त ? आईटीविज्ञ खनाल भन्छन्, ‘हामीले प्रविधिलाई जति सजिलो भित्र्याउँछौं, त्यसको प्रयोग र पहुँचको विस्तार भने त्यो ढंगले गर्न सकेका छैनौं, समस्या त्यहाँनिर छ ।’ उनका अनुसार क्रिटिकल इन्फास्ट्रक्चर मानिने टेलिकम पूर्वाधार र वित्तीय पूर्वाधारको पहुँच र प्रयोग सबैभन्दा पहिले सबै क्षेत्रमा पुर्याउनुपर्छ । यसको सही प्रयोगपछि मात्रै हामीले हाम्रो सूचना प्रविधिलाई सही सूचनाको माध्यमको रुपमा प्रयोग गर्न सक्छौं ।

दोस्रो समस्या हामीले प्रयोग गर्ने प्रविधिको प्रयोगको निरन्तरता पनि हो । मान्छेले बाध्यताले प्रयोग गरेको प्रविधिलाई जीवनशैलीसँग नजोडेसम्म त्यसलाई सही अर्थमा सूचना प्रविधिको प्रयोग विस्तारको रुपमा मान्न नसकिने खनालको तर्क छ । उनका अनुसार हाल कोरोनाभाइरसको महामारीका कारण भौतिक गतिविधि ठप्प हुँदा दैनिक जीवनयापनका लागि प्रविधिसँग जोडिने क्रम बढ्यो तर त्यो प्रयोग दीगो हुन्छ कि हुँदैन त्यसले मात्रै हाम्रो उपलब्धिलाई स्पष्ट गर्छ ।

हाम्रा सरकारी संयन्त्रहरु अहिले एकीकृत तथ्यांककै भरमा चलिरहेका छन् । तर त्यसलाई ‘बिग डाटा’मा रुपान्तरण गर्नुपर्ने आवश्यकता विज्ञहरु औंल्याउँछन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचना पंगेनी भन्छन्, ‘एग्रिगेट डाटा सिस्टमकै आधारमा अघि बढ्ने हो भने यसबाट हामीले केही निष्कर्ष निकाल्न सक्दैनौं, अर्थतन्त्रको समस्यालाई पहिचान गर्न अब ‘बिग डाटा’मा लगानी गर्नु अत्यावश्यक छ ।

त्यस्तो लगानी सरकार वा नियामक निकयबाटै हुनुपर्छ ।’ बिग डाटा त्यस्तो तथ्यांक व्यवस्थापन प्रणाली हो, यसले अर्थतन्त्रका सानासाना युनिटको तथ्यांकलाई समेत सुरक्षित र व्यवस्थित गर्ने काम गर्छ । तथ्यांकको अभावकै कारण अहिले नेपालमा जुनसुकै क्षेत्रले पनि अनुमानको आधारमा व्यापार व्यवसायमा लगानी गर्नु परिरहेकोले पनि समस्या देखिएको पूर्व कार्यकारी निर्देशक पंगेनीको दाबी छ ।

अर्को, समस्या भनेको साइबर सुरक्षाको हो । हामीले प्रयोग गरेका प्रविधि कति सुरक्षित छ र त्यसको दुरुपयोग हुँदा हुनसक्ने हानीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा हामीले ध्यान दिन सकिरहेका छैनौं । सम्भावित जोखिमको पूर्वानुमानविनाको सूचना प्रविधिको प्रयोग आफैंमा घातक हुनसक्ने उनको भनाइ छ ।

‘हामी साँच्चै सुरक्षित छौं कि कसैले मार्न नचाहेर मात्रै बाँचिरहेका छौं भन्ने सवालजस्तै सूचना प्रविधि क्षेत्रमा पनि अवस्था त्यस्तै हो । विश्वका ह्याकरहरुको ध्यान अहिले पनि नेपालमा आएको छैन, त्यसैले हामीले ठूलो क्षति व्यहोर्नुपनेको छैन’ खनाल भन्छन्, ‘तर नेपाल र रभारतको साइबर आक्रमणलाई पनि हामीले देख्यौं, यसले हामी सुरक्षित छैनौं भन्ने प्रष्ट पारेको छ । त्यसैले साइबर सुरक्षाको क्षेत्रमा हामीले ध्यान दिनैपर्छ ।’

एक पटक पढ्नुहोस