नि:शुल्क डायलासिस नपाएर भौतारिँदै श्रवण

२२ असार, काठमाडौं । २० वर्षे उर्जाशील उमेरमा मिर्गौला फेल भएपछि बागलुङका श्रवणकुमार सुनारलाई बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ । स्नातक तहको पढाइ छाडेका उनी अहिले डायलासिसका लागि छट्पटाइरहेका छन् ।

उपचारकै लागि पाँच महिनाअघि काठमाडौं छिरेका हुन्, श्रवण । सुरुमा नि:शुल्क डायलासिस गराए पनि लकडाउनपछि उनले निकै हण्डर खानु परेको छ ।

श्रवणका दाइ श्याम भन्छन्, ‘नियमित पैसा तिरेर डायलासिस गर्नुपर्दा हाम्रो त उठिबास नै हुन लागिसक्यो ।’ यति कम उमेरमै कसरी श्रवणको मिर्गौलाले काम गर्न छाड्यो त ? उनी आफ्नो विगतमा फर्किन्छन् ।

बागलुङमा जन्मिएका श्रवणको तीन वर्षको उमेरमै दुईवटै हात भाँच्चिए । त्यहाँबाट अस्पतालहरू टाढा थिए । त्यसैले उनलाई नजिकैको हेल्थपोस्टमा पुर्‍याइयो । हेल्थपोस्टले दुखाइ कम गर्न पेनकिलरको इन्जेक्सन हान्न थाल्यो ।

अलिकति दुख्यो कि श्रवणलाई बाबा-आमाले हेल्थपोस्टमा पुर्‍याइहाल्थे । हेल्थपोस्टमा उपलब्ध अहेबले उही पेनकिलरको इन्जेक्सन घुसाइदिन्थे अनि अनि पेनकिलरकै ट्याबलेट गोजीमा राखेर घर पठाइदिन्थे ।

उनको हात र दुखाइ त निको भयो । तर बिस्तारै त्यो दुखाइ पेटको देव्रे कोखातर्फ सर्‍यो । श्रवण भन्छन्, ‘१०/११ वर्षदेखि नै पेट दुख्न थालेको थियो । पछि त यस्तो परिस्थिति आयो कि जुनसुकै समय पनि पेट दुखिरहेकै हुन्थ्यो ।’ त्यतिबेला पनि उनी उही हेल्थपोस्टमा पुगे । हेल्थपोस्टको उपचार फेरि उही- पेन किलर।

श्रवणको पाँच वर्ष यसरी नै गाउँमा बित्यो । दु:ख सहँदै उनले एसएलसी राम्रै अंक ल्याएर पास गरे । तर पेटको दुखाइ झन्–झन् बढिरहेको थियो । त्यसपछि उनलाई दाइ श्यामले काठमाडौं ल्याएर जाँच गराए ।

डाक्टरले भने, ‘तपाईंहरूले धेरै ढिलो गरिसक्नुभयो । मिर्गौलाले काम गर्न छाडिसकेको छ । तर केही वर्ष औषधिले काम गर्छ ।’

त्यसपछि श्रवणले पेनकिलर छोडेर मिर्गौलाको औषधि सेवन गर्न थाले । औषधि खाँदै उनले बल्लतल्ल १२ कक्षा पास गरे । स्नातक तहमा भर्ना पनि भए । तर उनको मिर्गौलाको समस्या बढेपछि पढाइमा ब्रेक लगाउन बाध्य भए । अनि डायलासिसका लागि काठमाडौं छिरे ।

सुरुको दुई हप्ता त त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)ले नि:शुल्क डायलासिस गरिदियो । तर लकडाउन सुरु भएपछि अस्पतालले भन्यो– ‘अब हामीले गर्न सक्दैनौं, विकल्प खोज्नुस् ।’

श्रवण र उनको दाइ एक आफन्तकहाँ बसेका थिए । छोरालाई आफैँ मिर्गौला दिन्छु भनेर आमा गोमादेवी पनि सँगै आएकी थिइन् । टिचिङले हात झिकेपछि श्रवणको दुई हप्ता डायलासिस नै रोकियो ।

सुकेधारा बसेका उनीहरू नजिकैको ह्याम्स हस्पिटलमा पुगे । रोइकराइ गरे । अस्पतालले एकपटक डाइलासिसको – ३८ सय रुपैयाँ लाग्ने बतायो । त्यससँगै १५ सय रुपैयाँको इन्जेक्सन पनि दिनुपर्ने । हप्तामा दुई पटक गर्नुपर्ने । आर्थिक स्थिति कमजोर भएको परिवारका लागि यो निकै ठूलो बोझ थियो ।

तर पनि ऋण र गाउँबाट अलिअलि सहयोग मागेरै भए पनि दुई महिनासम्म डाइलासिस गरिरहे । दाइ श्याम भन्छन्, ‘महिनामा ५० हजारभन्दामाथिको खर्च लाग्छ । हामी कृषकले कहाँबाट ल्याउने यति धेरै पैसा ?’

त्यसपछि उनी फेरि टिचिङमा गएर अनुनय गरे । तर पहिलेकै जवाफ पाए, अन्त कतै गर्नु, यहाँ मिल्दैन । उनी वीर हस्पिटल पनि पुगे । त्यहाँबाट पनि उस्तै जवाफ- अहँ सिट छैन । नि:शुल्क डायलाइसिसको अनुमति पाएको ग्रिनसिटीमा पनि धाए । अहँ पाएनन् ।

श्याम सुनाउँछन्, ‘यी तीनवटै अस्पतालमा अहिलेसम्म चार–पाँच पटक पुगिसकेँ । तर डायलासिस गर्नै मान्दैनन् । कहिले सिट छैन भन्छन्, कहिले मेसिन बिग्रियो भन्छन् ।’

सरकारले मिर्गौलारोगीको नि:शुल्क डायलासिस गराउने नीति लिएको पहिल्यै हो । तर गरिब परिवारका श्रवण नि:शुल्क डायलाइसिसका लागि छटपटिरहेका छन् । श्रवण सुनाउँछन्, ‘अब त डायलासिस गर्ने खर्च पनि छैन ।’

श्रवण जति छट्पटाएका छन् त्योभन्दा बढी छट्पटाएकी छन् उनकी आमा । छोरालाई मिर्गौला दिएरै बचाउन चाहेकी छिन् उनले । ५८ वर्षकी गोमादेवी भन्छिन्, ‘चाँडै मिर्गौला दिन पाए उसको ज्यानलाई सन्चो हुन्थ्यो कि भन्ने लाग्छ ।’

एक पटक पढ्नुहोस