प्रदेश १ को राजधानी समेत रहेको विराटनगरलाई खासै छुन नसकेको संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा भने खातैखात लागेको छ ।झापा जिल्ला त्यसमा पनि तीनवटा ठूला कार्यक्रम प्रधानमन्त्रीको गृहनगर र एउटा कमल गाउँपालिकामा परेका छन्। बजेटले अधिकांश विकास पूर्वाधारको निर्माण दमकमा केन्द्रीत भएको देखिन्छ ।
गत आमनिर्वाचनमा प्रधानमन्त्री ओली झापा–५ बाट विजयी भएका हुन्,जहाँ दमक नगरपालिका पनि पर्दछ । दमकमा मात्र आगामी आर्थिक बर्षका लागि बाल साहित्य प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको ‘बाल प्रज्ञा प्रतिष्ठान’ स्थापनाका लागि बजेट विनियोजन भएको छ । जसअनुसार दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन पाराडाइज स्थापना गरिने छ ।
त्यसैगरी बजेट वक्तव्यमार्फत आदिवासी रंगशाला निर्माण स्थलपनि दमकमा सारिएको छ । कमलको पाडाजुँगीमा बन्ने भनिएको आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ओली सरकारले मदन भण्डारी रंगशाला बनाएपछि विवाद चर्केकै बेला रंगशाला निर्माण दमकमा सारिएको हो । पहिलाको उक्त स्थान कमल गाउँपालिका क्षेत्रमा पथ्र्यो । तर बजेट वक्तव्यमा उक्त स्थानबाट रंगशाला निर्माणको कामपनि दमकमा सारिएको हो ।
अब दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गरिनेछ ।
त्यसैगरी बहुतले बसपार्कसहितको सिटी पार्क निर्माणका लागि पनि दमक नै छानिएको छ। दमकमै दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने योजना भएको यो कार्यक्रम मकवानपुरको मयूर धाप,रुपन्देहीको मोतीपुर,बाँकेको नौवस्ता,कैलालीको लम्की र कञ्चनपुरको दैजीमा पनि लागू हुनेछ।
