After header

विप्लवको ‘बन्द’लाई देखाएर एमालेद्वारा प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ मा प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । केहीबेर अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।

प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ । एमालेले भने मंगलबार विप्लव नेतृत्वको नेकपाले देशव्यापी बन्द आह्वान गरेका कारण आफ्नो पार्टीका सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग गरेको हो ।

सत्ता पक्षले भने मंगलबारको बैठक अघि बढाउनुपर्ने अडान लिएको छ । प्रदेशसभा बैठक निर्धारित मितिमै राखेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने सत्ता पक्षको अडान छ । मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका छन् । उनले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मतसम्बन्धी सूचना दर्ता गराएका थिए ।

एक पटक पढ्नुहोस