पनौती/ नेपाली कांग्रेस पनौतीको निर्वाचन मुल परिचालन समितिले वुधवार एक कार्यक्रम आयोजना गरि निर्वाचनमा खटिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भएको कुराहरु बाहिर आइरहेको भन्दै निर्वाचन परिचालन मुल समितिका संयोजक भोला थापाले नव निर्वाचित प्रमुख भण्डारीले यस कुरामा पनि ध्यान पु¥याउनु पर्ने सुझाव दिनु भएको थियो ।
राम्रो काम गर्न सबै पनौतीबासिको साथ रहने भन्दै संयोजक थापाले नवनिर्वाचित प्रमुख भण्डारीलाई निडर भएर लिडरको भुमिका निभाउन आग्रह गर्नुभएको थियो । प्रमुख भण्डारीलाई पनौतीमा भएका विभिन्न क्षेत्रका विज्ञहरुसंगको राय सुझाव अनुसार योजना तर्जुमा आग्रह गर्दै संयोजन थापाले अब जो जससंग जे क्षमता र योग्यता छ त्यसको सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीको समग्र विकासको लागि सबै दलसंग समन्वय गरि अघि बढ्ने बताउनु भएको छ । साथै, उहाले नगरको भावि नीति र वजेट निर्माणमा सबैको साथ पाउने अपेक्षा गर्दै कर्मचारीहरुलाई समेत उच्च मनोवलका साथ सेवा प्रवाह गर्ने वातावरण बनाउने पनि बताउनु भएको छ ।
पनौतीलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने सोचका साथ अघि बढ्ने भन्दै नेतृत्वले गरेको निर्णय कार्यान्वयनमा सबै जनप्रतिनिधिहरुले एकजुट हुने वातावरण बनाउन आफ्नो प्रयत्न जारी रहने उहाको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले भन्नुभयो– निर्वाचन जिताउन परिचालन भएको सबै संयन्त्र अब पनौती नगर विकासको लागि पनि परिचालन हुनुपर्छ । उहाले पनौतीमा अब बहुमतको आडमा अनियमितता र भ्रष्टाचार गर्न नदिने पनि बताउनु भएको छ ।
पनौती नगरमा उपप्रमुख सहित एमालेको बहुमत रहेको र कर्मचारीहरु समेत अधिकाशं एमाले निकट रहेकोले काग्रेस बाट निर्वाचित प्रमुखलाई एक्लो बृहस्पति झुटो भने झै असहयोग हुने आशंका प्रति भण्डारीले भन्नुभयो– सबैलाई समेटेर समृद्ध बनाउन आफु सफल हुन्छु भन्नेमा म विश्वस्त छु । सुशासन, आर्थिक पारदर्शीता र दिगो विकास आफ्नो लक्ष्य भएकोले यसमा सबैको सहयोग प्राप्त हुने उहाँको भनाई थियो ।
कार्यक्रममा निर्वाचन परिचालन समितिका सदस्य शरद भण्डारीले विगतमा आफुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्य गर्दा पनौती नगरमा भएको भ्रष्टाचारबारे धेरै कुराहरु आएको भन्दै नवनिर्वाचित प्रमुखलाई सुशासनमा ध्यान दिन आग्रह गर्नुभएको थियो । पनौती नगरको स्थापनाकाल देखि नै एकछत्र राज गर्दै आएको एमालेका जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले विगतमा धेरै अनियमितता गरेको भन्ने आजव आइरहेकोले यो भुमरिमा नपर्न उहाँको सुझाव थियो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता शिवप्रसाद हुमागाईले पनौती नगरमा नेतृत्व गर्ने पहिलो अवसर जुटाई दिएकोमा मतदाताहरुलाई धन्यबाद दिनु भएको थियो । ३० वर्ष पछि पनौतीमा काग्रेसको नेतृत्व पाएको भन्दै काग्रेस नेतृ अञ्जु रञ्जितले पनौतीले शीरको टोपी पाएकोले यसलाई खस्न नदिने बताउनु भयो ।
कार्यक्रममा काभ्रे काग्रेसका कोषाध्यक्ष जगन्नाथ गिरीले यस अघि पनौती नगरपालिका तानाशाही रुपमा चलेको र एमालेको भर्ति केन्द्र बनेको भन्दै अब नवनिर्वाचित भण्डारीले मेयरमा निहित अधिकार सबै प्रयोग गरि यसलाई रोक्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस निर्वाचन परिचालन मूल समिति पनौतीले निर्वाचनमा प्रचारप्रसारमा सहयोग गरेको भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुलाई धन्यवाद सहित प्रसंसापत्र प्रदान गरेको थियो ।
