After header

नमोबुद्धका नगरप्रमुख कुनसाङको पाँच निर्णय

जेष्ठ नागरिक, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने

भकुण्डे/काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुखले पदग्रहण गरेको पहिलो दिन नगरबासीका लागि पाँच निर्णय गदै आफ्नो कार्यकाल शुरुवात गरेका छन् । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालनमा ल्याउने निर्णय सहित अन्य चार निर्णय गदै हिजो बुधबार बाट  कार्यकाल शुरु गरेका छन् ।

नगरपालिका भित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने, स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने निर्णय गरेका हुन् । यस्तै महिला उद्यमीको मात्र स्वामित्व रहने उद्योग दर्ता गर्दा लाग्ने दस्तुर पनि पूर्णरुपमा छुट गर्ने निर्णय लामाले गरेका छन् ।

यसैगर यसैगरी प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमश संचालन गरिदै लाने, पर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर र वडास्तरीयमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने तथा नगरस्तरीय शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी एक वटा एक कृषि प्राविधिक उत्पादन गर्न आवश्यक छात्रवृत्ति उपलब्ध गराउने निर्णय पनि नगर प्रमुख लामाले गरेका छन् ।

यी निर्णयलाई पहिलो कार्यपालिका बैठकबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा लगिने नगर प्रमुख लामाले बताए ।
नमोबुद्ध नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख लामाले नवनिर्वाचित उपप्रमुख रत्न लामा, ११ वटै वडाका वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

प्रतिनिधिसभा सांसद गंगावहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित उपप्रमुख, वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुलाई नमोबुद्ध नगरपालिकाका निर्वाचन अधिकृत बिष्णु ज्ञवालीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकामा निर्वाचित भएर हालै कार्यकाल पुरा गरेका निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगावहादुर तामाङले चुनावी प्रतिवद्धताअनुसार काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिए । नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले आफूहरुले चुनावका लागि मात्रै नभई विकासका लागि गठवन्धन गरेको र सबै दलसँगको सहमति र सहकार्यमा समृद्ध नमोबुद्धको सपना साकार पार्ने बताए ।

कुनै पनि पक्षसँग पुर्वाग्रह नराखी बुद्ध बचनलाई शीरमा राखेर आफूले काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । कार्यक्रममा पूर्व राज्यमन्त्री सूर्यमान दोङ, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा, मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल, राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार नवराज सत्याल, नेकपा एमालेबाट नगर उपप्रमुख पदका उम्मेदवार सम्झना लामा, नेकपा एसका जिल्ला सचिव दीपक गौतम, निवर्तमान नगर प्रमुख टिपी शर्मा तिमल्सिना, निवर्तमान उपप्रमुख रामदेवी तामाङ लगायतले मन्तव्य राखेका थिए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

एक पटक पढ्नुहोस