कवितालाई माया गर्ने कवि चन्द्र गुरुङको हालै प्रकाशित कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ चर्चामा छ । अनुवादमा समेत अनुभव राखेका कवि चन्द्रले थुप्रै अंग्रेजी, अरबिक तथा हिन्दी कविताको नेपाली अनुवाद गरेका छन् । गोर्खामा जन्मेर धरानलाई कर्म थलो बनाएका उनी लामो समय प्रवासमा पनि बिताए । उनको यस अघि कविता संग्रह ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ र अंग्रेजी अनुवाद ‘माई फादर्स फेस’ प्रकाशित छन् । उनै कवि चन्द्र गुरुङसँग मिडिया दर्पणले गरेको कविता – वार्ता प्रस्तुत छ ।
१) ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रह लिएर पाठकमाझ आउनुभएको छ, कतिको उत्साहित हुनुहुन्छ ?
यो लगभग १५ वर्षपछि आएको कृति हो । एउटा लामो पर्खाई थियो, केही धैर्यता पनि । यस कविता सङ्ग्रहले पाठकबाट पाएको मायाले म धेरै नै उत्साहित छु । नयाँ पाठकहरूसित जोडिँदै छु । थुप्रै सकारात्मक र प्रेमपूर्ण कमेन्ट, प्रतिक्रिया र रिभ्यूहरू आइरहेका छन् ।
२) कवितामा अचेल उही शैली, उही भाव, उही सन्दर्भ दोहोरिइरहेका छन् भन्छन् । तपाईंले यसलाई कसरी लिइरहनु भएको छ ?
यदि यस्तो हो भनें सायद हामीले नेपाली कवितामा नयाँपन दिन नसकेर हो कि ? तर यो एउटा अवसर पनि हो केही नयाँ गर्नलाई । यो संकेत हो कि हामीले नेपाली कविताको दायरा अझैं फराकिलो पार्नु पर्ने छ ।
३) लामो समयको अन्तरालमा कविता संग्रह लिएर आउनु भयो । तपाईंको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ अहिलेको समयमा निकै चर्चा बटुलिरहेको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
आफ्नो नविनतम कृतिले चर्चा बटुलिरहेको अवस्थामा एउटा कविलाई खुसी लाग्नु स्वभाविकै हो । तर मैले अझैं राम्रा कविताहरू लेख्नुपर्छ भन्ने पनि मेरो मनमा छ । यसलाई थप जिम्मेवारीको रुपमा लिएको छु ।
४) नेपालमा कविता लेखेर मात्रै साहित्य क्षेत्रमा टिकिरहन सकिन्छ भन्ने लाग्छ ?
कविताको उद्देश्य आफ्नो वरिपरिको समाज र परिवेशलाई नजिकबाट हेर्नु हो । जीवनको छेउमा गएर बाँच्नु हो । आफैभित्रको साँस बन्नु हो ।
कविता लेखेर मात्रै साहित्य क्षेत्रमा टिकिरहन सकेका र नाम कमाएका थुप्रै अग्रज कविहरू उदाहरण छन् ।
५) तपाईंको कवितामा समय, परिवेश, प्रकृतिले विशेष स्थान पाइरहेको हुन्छ, के तपाईं प्रकृति प्रेमी कवि हो ?
कवि–लेखकले आफूले बाँचेको समय र समाज त पक्कै लेख्नुपर्छ । हामीले नलेखे यो समयबारे कसले लेखिदिने ? लेखनमा आफ्नै वरिपरिको समाज र परिवेश आउनु भनेकै लेखक सचेत छ भन्ने प्रमाण हो ।
जहाँसम्म प्रकृतिको कुरो छ । म गोर्खाको दुर्गम ठाउँ, माझगाउँमा जन्मेको मान्छे, वनजंगल र खोलानाला चहार्दै हुर्केको हुँ । यसकारण पनि मेरा कविताहरूमा प्रकृतिले विशेष ठाउँ पाएको हो ।
६) कोरोनाकाल पछि साहित्यको बजार बिस्तारै सेलाउँदै गएको भन्नेछ, तपाईंलाई कस्तो लाग्छ ? यतिबेला आख्यानले समेत बजार नपाइरहेकाबेला कवितासँग कतिको आश गर्न सकिन्छ ?
कोरोनाकालपछि साहित्य बजार सेलाउँदै गएको पक्कै हो । किताब मात्रै होइन किताब छाप्ने कागजसम्म बजारमा नभेटिएको अवस्था थियो ।
बजारमा त जे पनि बिक्छ । लेपन र प्रचार गरेपछि बजारमा त फलाम पनि सुनको भाउमा बिक्छ । तर कविताको उद्देश्य बिक्री वा धन कमाउने होइन । एउटा सुन्दर कविताबाट लेखककविको आफ्नो आत्मसन्तुष्टी तथा वृहत समाजको कल्याण र रुपान्तरणको लागि केही त आश गर्न सकिन्छ ।
७) नेपालमा अबको समयमा पठनसंस्कृतिलाई संरक्षण गर्दै अघि बढाउनका लागि केके कदम चाल्नुपर्छ जस्तो लाग्छ ?
किताबहरू उचित मूल्यमा उपलब्ध हुनुपर्यो । अनुवादकहरूलाई राम्रा विदेशी साहित्यलाई नेपाली भााषामा ल्याउन प्रोत्साहन गर्नुपर्यो । स्कुल तथा कलेजमा साहित्यिक कार्यक्रमहरू नियमित रुपमा सञ्चालन भइरहे युवापुस्तालाई पढ्न र लेख्न प्रेरणा मिल्ने छ ।
८) तपाईं कविताको अनुवाद समेत गर्नुहुन्छ, यो अनुभवमा नेपाली कविताको अवस्था वा स्थान कस्तो देख्नुहुन्छ ?
साहित्यलाई नयाँ भाषा, समाज र पाठकसम्म लान अनुवाद अत्यावश्यक छ । ध्यान दिनुपर्ने के छ भनें गलत र कमजोर साहित्यको अनुवाद नहोस् । यसले नेपाली साहित्यको गलत परिचय विदेशी पाठकसम्म पुर्याउनमा भूमिका खेल्छ ।
स–सानो देशको साहित्य पनि अनुवाद र आफ्नो देशको सरकारले यस क्षेत्रमा प्रदान गरेको सहयोगले विश्वभरि फैलिरहेको छ । तर नेपाली साहित्यमा यसको अभाव छ । यसकारण म हाम्रो साहित्यले हिँडनु पर्ने बाटो अझै धेरै लामो देख्छु ।
९) ‘जब एउटा मान्छे हराउँछ’ दोस्रो संस्करण आउँदै गरेको चर्चा छ, तपाईंलाई यो सूचनाले कतिको उत्साहित बनाएको छ ? यसपछि तपाईंको नयाँ कृति पाठकले कहिले पढ्न पाउने ?
पहिलो संस्करण लगभग सिध्धिएको छ । अब साउन दोस्रो हप्तापछि नयाँ संस्करणको काम थाल्दै छौं । वास्तवमा, म चुपचाप बस्न मन पराउने कवि हुँ । म हल्ला गर्दै डुलिहिँडने कवि परिन । तर “जब एउटा मान्छे हराउँछ”ले पाठकबाट पाएको मायाले मलाई उत्साहित बनाएको छ ।
नयाँ कृतिको हतार त छैन । तर कविताको अनुवादको कुनै किताब ल्याउन सक्छु ।
१०) साहित्यमा लागेका नयाँ पुस्तालाई तपाईं के भन्न चाहनुहुन्छ ?
साहित्यमा लागेका नयाँ पुस्तासित यो अनुरोध छ कि असल साहित्यलाई माया गरौं । राम्रो साहित्यको अध्ययन गरौं र केही सिकौं । साहित्यको सेवाको नाममा गठन गरिएका संगठनहरूले कमसल साहित्यलाई पालोको पैँचो गर्दै पुरस्कृत गर्दा असल लेखक तथा साहित्यलाई मार पर्छ । हामीले राम्रो साहित्यलाई माया र सम्मान गरे नेपाली साहित्यको जगेर्ना हुनेछ । 
