After header

बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिकरण कार्यक्रम सम्पन्न

अस्मिता केसी  हेटौंडा/ बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९।०८० मा बागमती प्रदेश प्रहरीको जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाई प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गरेकी हुन् । आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्र÷लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप÷सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७९ मा रहेको छ ।

कार्ययोजना सार्वजनिक गदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य भनेको बिगतमा कार्य सम्पादनको क्रममा देिखएका कमिकमजोरीहरुलाई सुधार गर्दै प्रदेश प्रहरीको भुमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउन आवश्यक रहेको बताईन् । उनले सेवा प्रवाहलाई प्रणालीबद्ध एवं निर्देशित तवरले संचालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षित बनाउन प्रहरीको दायित्व रहेको समेत बताईन् ।

कार्ययोजना संगठन संचालनको मेरुदण्ड भएको बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आम नागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत उनको भनाई थियो । नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ति सामूहिक कार्यबाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशिल भई तोकिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिईन् ।

कार्यक्रममा कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिबिधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।कार्यक्रममा बागमती प्रदेश प्रहरीले यस आर्थिक वर्षमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पार्दर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन, विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतम÷रचनात्मक कार्यक्रमको संचालन भईरहेको जानकारी गराईएको थियो ।

कार्यक्रमा आगामी दिनमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १ सय वटा क्रियाकलाप संचालन गर्ने बताईएको थियो । जसमा डिजिटल चेकपोईन्ट निर्माण, सिसिटिभि जडान, हातहतियार वरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षा लगायतका क्रियाकलापहरु संचालन गरिने बताइएको थियो । यसैगरी दुर्घटना न्युनिकरणका तथा सवारी व्यवस्थापनका लागि लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने ब्यवस्था मिलाउने रहेको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदारी समिति पुनर्गठन गर्ने, सचेतना कार्यक्रम, नागरिक सुनुवाई, विद्यार्थीसंग प्रहरी, व्यवस्थित नागरिक सहायता कक्ष, विभिन्न व्यक्तिसंग छलफल र अन्तकृया, मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्य लगायतका गतिविधि संचालन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

एक पटक पढ्नुहोस