After header

नक्सा पास नगरी घर बनाउने सिजि भिलेजलाई तत्काल काम रोक्न आदेश

नगरको आदेश नमाने कारवाही प्रकृया अगाडि बढाउने ः नगर प्रमुख भण्डारी

शिखर चिमौरीया
काभ्रे, पनौती
काभ्रेको पनौती नगरपालिका भित्र नक्सा पास नगरी घर बनाईरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ । ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालय पठाएको पत्रको सम्मोधन गदै नगरपालिकाले काम रोक्न आदेश दिएको छ ।

नक्सा पास विना नै धमाधम घरहरु निर्माण भैरहेको बारेमा मिडिया दर्पणले पटक पटक समाचार प्रकाशित गरेपछि घरनिर्माण कार्य रोक्न नगरपालिकाले पत्र पठाएको नगर प्रमुख रामशरण भण्डारी जनाकारी दिए । नगरपालिकाले साउन २ गते पनि तत्काल काम रोक्न आदेश गरेको थियो तर सिजि भिलेजले वेवास्था गरेकाले पुन फेरी साउन २३ गते पत्र पठाएका छौं, उनले भने ।

यसरी नियममा नै नभएको र कानुनलाई व्यवास्था गरि घर निर्माण भईरहेकाले यसका लागि कानुन बोमोजिम कारवाही गरिने समेत भण्डारीले बताए । हामीले किन र कसरी घर निर्माण गरियो, नक्सा पास नभई र कित्ताकाट नगरी घर निर्माण भईरहेको भन्ने समाचार आएपछि यसका लागि तत्काल छानविन समेत गरीने उनले बताए ।

पनौती भिलेजमा नक्शा पास नभएका घरहरु निर्माण भैरहेको बारे मिडिया दर्पणमा समाचार आएपछि पनौती नपा वडा नम्बर ९ ले यस बारेमा चासो दिएको थियो । काभ्रेको पनौती नगरपालिका– ९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास निर्माणको काम गरिरहेको छ ।

सिजि प्रोपर्टीज प्रालिले विभिन्न कम्पनीको नाममा यहा घरजग्गाको कारोबार गरिरहेको छ । यहाँ धेरै घर बनिसकेको भएपनि अहिले वडा कार्यालयमा एउटा घरको नक्शा पास गर्न निवेदन परेको छ । वडा कार्यालयमा नक्सा पासको लागि दिएको कागजातमा सुयोन्स होल्डीङ्ग प्रालिको पनि नाम छ ।

एउटा घर निर्माणको लागि नक्शा पास गर्न निवेदन परेपछि वडा चारकिल्ला बारे जाचवुझ गर्न फिल्डमा जादाँ अन्य धेरै घरहरुको निर्माण भैसकेको, केहि घरहरु निर्माणको अन्तिम चरणमा रहेको पाइएको भन्दै प्राप्त निवेदन उपर के गर्ने भन्ने बारेमा नगरपालिकालाई सोधिएको थियो ।

वडा अध्यक्ष सहकुल कुमार हुमागाईले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ– वैशाख २१ गते कित्ता नं ५९२ र ५९३ को चार आना एकपैशा क्षत्रफलमा घर निर्माणको लागि नक्सा पास गर्न एउटामात्र निवेदन आएको यस क्षेत्रमा जादाँ नक्शा पास अगावै ३०÷४० वटा घर बनिसकेको देखिएकोले यस्तो अवस्थामा नक्शा पास प्रक्रिया अघि बढाउन गर्न मिल्ने वा नमिल्ने स्पष्ट कानुनी आधार एवं प्रक्रियाको बारेमा मार्ग निर्देशन गर्न अनुरोध छ ।

स्थानिय बासिहरुको भनाई अनुसार यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ सबै साढे दुईतल्ले एकैनासको घर निर्माण हुने बताइएको छ । उनिहरुको भनाई अनुसार अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ । २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको छ ।

२०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको भन्दै स्थानीय बासिहरुले गत श्रावण देखि निर्माण कार्य शुरु गरिएको बताएका छन् ।पनौती नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तलेजु गुठीको नाममा रहेको कित्ता नं ५८४ को २ रोपनी ६ आना १ पैश २ दाम जग्गाको मोहिमा त्रिशक्ति सिमेन्ट प्रा.लि. नाम कायम गर्न पनि निवेदन परेको छ ।

यो जग्गा पनि सामुहिक आवास निर्माण भैरहेको क्षेत्रमा रहेको अनुमान गरिएको छ । यस बारेमा पनि वडा कार्यालयले बुझरहेको वडा अध्यक्ष हुमागाईले बताउनु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ ।

नक्शापास विना धमाधम निर्माण भैरहेको सिजि होम्सले कित्ता काट नै नगरि घरहरु निर्माण गरिरहेकोले थप समस्या आउन सक्ने प्राविधिक शाखाका कर्मचारीहरुको भनाई छ । ‘हामिले बोल्न मिल्दैन, नक्शा पास नभएपनि कित्ताकाट त भएको हुनुपर्ने त्यो पनि रहेनछ’ एक कर्मचारीले भने– ठुला घरानाका व्यवसायी हुन, यसमा ठुल्लै चलखेल भएको हुनसक्ने उनले बताए ।

एक पटक पढ्नुहोस