After header

बेलर इन्टरनेशनल एकेडेमीको दोस्रो चरणको अभिभावक दिवस सम्पन्न

५ वर्ष सेवा अवधि पुरा गरी उत्कृष्ट कार्य गरेका शिक्षकहरुलाई सम्मान

बनेपा / काभ्रे जिल्लाको शैक्षिक क्षेत्रमा नाम राख्न सफल एवं गुणस्तरीय शिक्षाका लागि नाम चलेको बेलर इन्टरनेशनल एकेडेमीको दोस्रो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख अतिथित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गदै समन्वय प्रमुख गौतमले ‘शिक्षाको विकास विना समाजको चेतना स्तर वृद्धि हुन नसक्ने बताउदै आजका बालबालिका भोलिका यस देशका कर्णधार भएको बताए । यस जिल्लाका लागि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा दिदै जसरी बेलर इन्टरनेशनल एकेडेमीले थप योगदान पु¥याएको छ भोलिका दिनमा अन्य विद्यालयले समेत यसरी नै अगाडि बढ्नु पर्ने उनले बताए । शिक्षामा विना सबै अन्धकार रहेको बताउदै शिक्षाबाट केही पनि बञ्चित हुन नहुने उनको भनाई थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोला थापाले विद्यालयले व्यवहारिक र गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी शिक्षाका लागि अतिरिक्त क्रियाकलापसँग जोडिएर विद्यार्थीहरुको प्रतिभालाई समेत प्राथमिकता दिएको बताए । जिल्लालाई शैक्षिक हवका रुपमा विकास गर्ने उद्देश्यले सुरु भएको बेलर एकेडेमीले नागरिकहरुलाई शिक्षासँगै जीवनोपयोगी ज्ञान प्रदान गरिरहेको अध्यक्ष थापाको भनाई थियो । अहिले निजि विद्यालयमा पढाई भन्दा पनि कस्ले कति विद्यार्थी जम्मा गर्ने होडबाजी चलेको बताउदै यसरी विद्यालयमा व्यापार भन्दा पनि पढाईतिर ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि बेलर एकेडेमीले काठमाडौँ विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा शिक्षा प्रदान गर्न विधि, सिप सँगै सहकार्य र समन्वय गरिरहेको बताईन् । हामी विद्यार्थीहरुको भविष्यका लागि कसरी अगाडि बढ्ने र कसरी नयाँ तरिकाले विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न सकिन्छ भन्ने तिर विद्यालयको टिम नै लागि परिरहेको उनले बताईन् ।

कार्यक्रममा अभिभावक ईश्वरी ओझा, विद्यालयका प्रबन्ध निर्देशक पवनकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बेलर एकेडेमीले जिल्लाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सक्ने गरी शिक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा गरी उत्कृष्ट कार्य गरेका शिक्षकहरु सरिता कार्मी, देवकी काफ्ले, अन्जु सेढाईलाई नगद सहित सम्मान गरिएको थियो भने अनिषा वैद्य र ईसु श्रेष्ठलाई आईएसए प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका कर्मचारीहरू देवी प्रधान, जानुका प्रधान र विनीता प्रधानलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले संस्कृति कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए भने विद्यालयमा करीब ३ हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

एक पटक पढ्नुहोस