काठमाडौं / स्वतन्त्र विद्यार्थी यूनियन ( स्ववियु) निर्वाचन प्रचारप्रसारमा रंगरोगन र पोस्टर टाँस्न नपाउने भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुन लागेको निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।
त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।उनका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।
आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।
क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
