बनेपा / प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा प्रत्यासी रहेका शिवप्रसाद हुमागाईले सो क्षेत्रको विकासको पहलकदमी लिएका छन् । पार्टीभित्रैको अन्तरघातको कारण पराजय भागेपनि चुनावमा गरेका प्रतिवद्धता पुरा गर्न उनले पहलकदमी थालेका हुन् ।
यसको तयारी स्वरुप उनले शुक्रबार बनेपास्थित जिल्ला पार्टी कार्यालयमा सो क्षेत्रका नगर तथा गाउँपालिका पार्टी सभापति, वडा सभापति, पार्टीबाट निर्वाचित वडाअध्यक्षको भेला गरेर सुझाव संकलन गरेका हुन् ।‘पार्टी भित्रैकै असहयोग र अन्तर्घातका कारण म हारें तर तपाईहरु विचलित हुनुपर्ने अवस्था छैन, चुनावमा गरेका प्रतिवद्धता म पुरा गर्छु’ बनेपामा आयोजित भेलामा उनले भने, ‘अबको पाँच बर्षमा मैले चुनावको बेला गरेका प्रतिवद्धताका सबै पूरा गर्न नसके पनि ८० प्रतिशत काम पुरा गर्छु, जनताको सुखदुःखमा म सधै तपाईहरुको साथमा छु ।

’ काभ्रे जिल्लाको विकासका लागि आफूले हिजो पनि गरी आज गर्छु र भोलि पनि यसका लागि निरन्तर दिने उनले बताए । विशेष गरि काभ्रे प्रतिनिधिी सभा २ मा गत निर्वाचनमा उम्मेदवार बनेपछि अझै धेरै विकासको कामका लागि आफ्नो काँधमा जिम्मेवारी थपिएको हुमागाईले बताए ।
उनले सबै वडाबाट योजना र तिनको प्राथमिकता क्रम निर्धारण गरेर ल्याउन अनुरोध गर्दै ती योजना पुरा गर्न आफू सबै निकायमा पहलकदमी गर्ने बताए । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुमागाई पूर्व सांसद समेत हुन् । ३ पटक काभ्रे कांग्रेसको नेतृत्व गरेका हुँमागाई केन्द्रमा पहुँच राख्ने नेता हुन् ।
