बनेपा ।काभ्रे बनेपा लियो क्लबले २८ चैत्र २०८९ मा बनेपामा आयोजना गरेको KBLC OPEN Basketball Tournament सिजन ४ बाट बचेको रकमले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। छात्रवृत्ति पाउनेमा बनेपा ८ स्थित शिक्षा सदन माध्यमिक विद्यालयका ५ जना जेहेन्दार विद्यार्थी रहेका छन्।
गत शनिबार बनेपा मा भएको उक्त प्रतियोगितामा पुरुष विधामा ३२ ओटा टीम यसैगरी महिला विधामा ८ ओटा टीम उपस्थित रहेको थियो। पुरुष विधाको विजेता “टाईम्स ए” रहेको थियो भने उपविजेता “टीम हिमालय” बनेको थियो। यसैगरी महिला विधाको विजेता “बुढानिकण्ठ बी” बनेको थियो भने उपविजेता “काभ्रे बनेपा लियो क्लब” बनेको थियो। विजेता तथा उपविजेता टोलीले नगद उपहार, मेडल, ट्रफी, सर्टिफिकेट र गिफ्ट भौचर प्राप्त गरेका थिए।
“उक्त बास्केटबल प्रतियोगितामा संकलन भएको रकमबाट सबै खर्च कटौती गरेपछि हामी आयोजकसँग थोरै नगद बाँकी रहेको र त्यस रकमबाट हामी कुनै सामाजिक कार्यमा उपयोग गर्न चाहन्छौं। काभ्रे बनेपा लियो क्लब एक सामाजिक संस्था भईरहँदा सामाजिक कार्यको रुपमा हामी बनेपा वडा नं ८ स्थित शिक्षा सदन मावि मा अध्यनरत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई हामी छात्रवृत्ति प्रदान गर्न गईरहेको छौं। साथै उक्त कार्यक्रममा हाम्रा प्रायोजकलाई पनि सम्मान गर्न गईरहेको छौं।”, क्लबका एक प्रतिनिधिले बनाए।
छात्रवृत्ति वितरण कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख, शान्तिरत्न शाक्य, शिक्षा सदन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लायन्स क्लब अफ काभ्रे बनेपामा अध्यक्ष, लायन पदम सुन्दर श्रेष्ठ,लियो जिल्ला परिषद् ३२५ जी का अध्यक्ष, लियो सुमित मानन्धर, बनेपा नगरपालिका वडा नं ५, ८, ९ का वडा अध्यक्ष, लायन सदस्यहरू, लियो सदस्यहरू तथा बास्केटबल प्रतियोगिताका प्रायोजकहरु उपस्थित थिए। यस प्रकारका युवावर्ग लक्षित कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने र समाज विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता क्लबका अध्यक्ष लियो सुजल मानन्धरले व्यक्त गरे।
