After header

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काभ्रे ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्तको दोस्रो चरण समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ ।, खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।, स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ ।, अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन ।, नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको बताएका छन् ।

उनले काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको विगत ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा र्पुयाएको योगदानको उच्च कदर गर्दै गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्न सकेकोमा यस विश्वविद्यालयका स्थापनाकालदेखि वर्तमान नेतृत्वसम्म सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

कार्यक्रममा उप कुलपति भोला थापाले गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता रहेको यसकै लागि वर्षेनी हजारौं विद्यार्थीहरू नेपालबाट विदेसिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवं शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना हामी सबैका लागि अहिलेको सबैभन्दा टड्कारो आवश्यकता र चुनौतीसमेत रहेको बताए ।

उनले नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचना एवं डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारले काम सुरु गर्नुपर्ने बताए । दीक्षान्त समारोह बाट ९ जनाले पिएचडी सहित १ हजार दुई सय ४० जना दीक्षित भएका छन् । काठमाडौं विश्वविद्यालयवाट स्कुल अफ आट्र्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुने बताइएको छ । तीमध्ये आर्टस्का ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ दीक्षित भएका छन् ।

दीक्षित भएका विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४९.३५ प्रतिशत ९६ सय १२ जना र महिलाको प्रतिशत ५०.६५ प्रतिशत ९६ सय २८ जना रहेका छन् । दीक्षितमध्ये बेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी ४ देशका ७३ जना अर्थात ५.८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहेका थिए ।

एक पटक पढ्नुहोस