काभ्रे/ संविधान दिवसको अवसरमा काभ्रे कारागारबाट १० जना कैदी छुटेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जना कैदीलाई आज बुधबार रिहा गरिएको छ ।
काभ्रे, रामेछाप, मकनापुरका १० जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा गरिएको काभ्रे कारागार कार्यालयले जनाएको छ । बहुविवाहमा ४ जना, सवारी ज्यान मुद्धाका ३ जना, कर्तव्य ज्यानका १ जना, ज्यान मार्ने उद्योग मुद्धाका १ र डाका चोरी मुद्धाका १ जना गरी १० जना रिहा भएका हुन् ।
रिहा हुनेहरुमा बहुविवाह मुद्धाका काभ्रे बनेपा ११ का रुपेश काफ्ले, पाँचखाल नगरपालिका ३ का लक्ष्मण तामाङ, नमोबुद्ध ५ कानुपरका अमृत भनिने अमृत राज वडाल र बनेपा ११ का प्रदिप थापा रहेका छन् । सवारी ज्यान मुद्धामा रिहा हुनेहरुमा मकनापुरका अभिषेक लामा, रामेछापका रोशन घिमिरे, काभ्रे रोशी ४ का सानु तामाङ रहेका छन् । डाकाचोरी मुद्धामा काभ्रे मण्डनदेउपुर १२ का पेम्पा लामा, कर्तव्य ज्यान मुद्धाका काभ्रे नमोबुद्ध ८ डराउनेपोखरीका गणेश बहादुर लाखे, ज्यान मार्ने उद्योग मुद्धाका पाँचखाल १२ का रमेश दनुवार रहेका छन् ।
५० प्रतिशत कैद भुक्तान गरेकाको बाँकी कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको जेलर परशुराम थापाले जानकारी दिए । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।
