काभ्रे । काभ्रेको बनेपामा माई चण्डेश्वरी जात्राको अवरसरमा रैथाने खाना महोत्सव हुने भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा यही जेठ १०, ११ र १२ गते महोत्सव हुने भएको हो ।
महोत्सवका संयोजक एवं काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार (भालु) श्रेष्ठले सांस्कृतिक सदभाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागेको बताए। महोत्सव फाइदाका लागि भन्दा पनि रैथाने खाना प्रवर्द्धनका लागि आयोजना गरेको भालुले जानकारी दिए ।

करिब १५ वटा स्टलमा विभिन्न नेवारी रैथाने परिकार हुने उनको भनाइ छ। महोत्सवमा हजारौँ मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव तिमल्सिनाले बनेपाको पहिचान झल्काउने परिकारको प्रवर्द्धनको लागि महोत्सवको आयोजना गर्न लागेको बताए ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठका अनुसार उक्त महोत्सवका लागि करिब चार लाख बजेट आवश्यक पर्नेछ । प्रतिस्टल १० हजारका दरले शुल्क उठाएर उक्त लागत परिपूर्ति गर्ने योजना रहेको उनले बताए। तीन दिनसम्म चल्ने महोत्सवमा २५ देखि ४० वटा स्टल हुने अनुमान गरिएको छ ।
