दोलखा । काभ्रेको पाँचखालका केही दिन अगाडि जलेको अवस्थामा भेटिएको शव दोलखाका बिष्णुप्रसाद सुवेदीको रहेको पुष्टी भएको छ । आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो ।
सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो पट्टिको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँत समेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ बर्षीय सुवेदी बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट निस्किएका थिए ।
मोवाईल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक बैशाख २४ गते जिरो किलोस्थित एक होटल संचालकको मोवाईल नम्बरवाट घरमा सम्पर्क गरी आफु केही दिन घर नफर्किने बताएका थिए ।उनी घरबाट १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको थियो ।
बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको हो । घटना प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ ।
तर, काभ्रेपलाञ्चोक प्रहरीले सुवेदीको हत्या गरिएको हो वा आत्महत्या भन्ने वारे यकिन हुन बाँकी रहेको जनाएको छ । शुक्रवार जिरो किलोस्थित मेलम्चि–जिरो किलो सडक खण्डवाट करिव ५० मिटर तल बिरोजे खोल्चा जङ्गलमा एक पुरुषको शव फेला परेको थियो ।
मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारजनले बताएका छन् । यता काभ्रेपलाञ्चोक प्रहरीले घटनाका बिषयमा अनुशन्धान भइरहेको जनाएको छ ।
