After header

बागमती प्रदेश स्तरीय स्काउट क्याम्प पाँचखालमा शुरु

काभ्रे । काभ्रेको पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प पाँचखालमा शुरु भएको छ । पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले हिजो विहिवार अर्थात जेठ १७ देखि १९ गते शनिवारसम्म हुने ३ दिने स्काउट क्याम्पमा प्रदेशभरीको स्काउटको सहभागितामा शुरु भएको जानकारी दिए ।
बागमती प्रदेश स्तरीय तेश्रो बृहत्त स्काउट क्याम्प पाँचखाल नगरपालिकाको साझेदारीमा क्याम्प आयोजना गरिएको बोलखेले जानकारी दिए ।

पाँचखाल नगरपाकिलाका नगर प्रमुख महेश खरेलले क्याम्पको शुभारम्भ गरेका थिए । क्याम्पमा प्रदेश भित्रका जिल्लाका ३ सय ५ आवासीय रुपमा रहने गरी विभिन्न विद्यालयबाट कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा युवाहरु, स्काउटहरु र क्रु सदस्यहरुको   सहभागिता रहेको छ । पाँचखाल नगरपालिका वडा नम्वर ४ मा रहेको दुग्धेश्वर माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको क्याम्पमा करिव ४ सय ५० जनाको सहभागिता रहेको छ ।

बागमती प्रदेश स्काउट प्रमुख शिवकुमार त्वायनाले क्याम्पबाट स्काउट बालबालिकाहरुको सर्वाङ्गिण र चौतर्फी विकासका साथ व्यवहारिक ज्ञान दिने बताउँदै स्काउटमा प्रदेशभरीका स्काउटहरु सहभागिता रहेका उनले जानकारी दिए ।जेठ १९ गतेसम्म हुने क्याम्पको पहिलो दिन उद्घाटन सहितका केहि गतिविधीहरु सम्पन्न भएका छन् । तालिमका लागि प्रशिक्षणमुलक कार्यक्रमका साथै एडभेन्चर गतिविधी आयोजना गरिएको छ ।

क्याम्पले बालबालिकामा नेतृत्व, साहस, सीप, अनुशासन, सामूहिक कार्य, स्वयंसेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्याम्पअन्तर्गत साहसिक गतिबिधी, सुपरमेन जम्प, ओमेगा जम्प, कमान्डो ब्रिज मङ्की क्लाम्विङ जस्ता विविध साहाशिक गतिविधिहरु समाबेस गरिने बताइएको छ ।

यस अघि यस्ता क्याम्प पाँचखाल नगरपालिकाको सर्वमंगला र पाँचखाल भ्यालीमा पहिलो र दोश्रो क्याम्प आयोजना गरिएको थियो ।कार्यक्रमको उद्घाटन सत्रमा स्काउका केन्द्रिय प्रमुख आयुक्त महेन्द्रराज राउत, बागमती प्रदेश स्काउट तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु जनप्रतिनिधी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस