After header

नवनिर्मित भवनको प्रधानमन्त्री र गृहमन्त्रीद्धारा उद्धाटन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन प्रधानमन्त्री केपी शर्मा ओलीले र गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमको बिच उद्धाटन गरेका छन् । भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैलाई फसाउन र अपराधीलाई जोगाउन आदेश नदिने जिकिर गरेका छन् ।

मनोगत रूपमा नभएर बस्तुगत आधारमा बढुवा र आवश्यकताको आधारमा सरुवा गरिने उद्घोष गर्दै ओलीले भने– ‘सरुवा र बढुवामा कुनै दौडधुप गर्नुपर्दैन, झोला र थैला बोकेर कुद्नुपर्ने आवश्यकता छैन ।’समाज बिथोल्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रण गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले सो अवसरमा नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पु¥याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी गर्व गर्न लायक संस्था भएको बताएका छन् । ‘प्रहरी गर्व गर्न लायक संस्था हो ।’सीमित स्रोत र साधन भए पनि प्रहरीले असीमित काम गरेको उल्लेख गर्दै लेखकले भने, ‘देशभर ६ सय अस्थायी चौकी र इलाका प्रशासन माग भएको छ तर, हामीले ५ वटा पनि दिन सकेका छैनौँ ।’यस्तो अवस्थामा पनि नेपाल प्रहरीले काम गरेको छ ।

पहिलोपटक प्रधानमन्त्री हुँदा २०७६ असार १० मा उनकै नेतृत्वको मन्त्रिपरिषद्ले खाद्य संस्थानको १५ रोपनी जग्गा काठमाडौँ प्रहरीको नाममा खरिद गर्ने निर्णय गरेको थियो । दुई चरणमा निर्माण सम्पन्न भएको भवन १ अर्ब २६ करोड ७४ लाखमा बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नव निर्मित भवनमा ४ सय प्रहरीका लागी ब्यारेक र ३ सय थुनुवा राख्न मिल्ने थुनुवा कक्ष रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक पटक पढ्नुहोस