मकवानपुर । बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
बिहान ७ बजे हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो । प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका विभगीय मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरी कार्यक्रममा विभिन्न झाँकी तथा बाजा प्रदर्शन गरिएको थियो । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।
