काभ्रे । महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) नामक गैरसरकारी संस्थाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडित परिवारलाई राहत–रकम सहयोग गरेको छ ।
उक्त संस्थाका नेपाल प्रमुख एलिस अकुङ्गाले मंगलबार नगरको वडा नं ६ का पीडितलाई राहत–रकम प्रदान गरी राहत प्रदान कार्यक्रमको सुरुआत गरिन् । गत असोज दोस्रो साताको अबिरल बर्षाको बाढीपहिरोपीडितलाई सरकारले प्रदान गर्न लागेको राहत–रकमसरह यूनिसेफले उक्त नगरका प्रभावित परिवारलाई प्रदान गरेको हो । उक्त वडाका विपद् प्रभावित ५९ परिवारले उक्त रकम पाउने भएका हुन् । वडामा एक जनाको मृत्यु भएको थियो ।
यूनिसेफले नगरलाई एकमुष्ठ रुपमा उपलब्ध गराएको रु एक करोड ५० लाख ४० हजार पाँच सयलाई नगरले वडागत रुपमा पीडित परिवारलाई प्रदान गर्न सुरु गरेको हो । यूनिसेफबाट यस राहत रकम प्राप्त गर्नेले सघीय सरकारबाट घोषित अल्पकालीन राहत (५ जनासम्मका परिवारलाई रु पन्ध्र हजार तथा ५ जना माथिका परिवारलाई दिईने रु बिस हजार) भने पाउने छैन् ।
नगरप्रमुख कुन्साङ लामाले शुक्रबारसम्म सबै वडाका विपद्प्रभावितलाई उक्त राहत–रकम प्रदान गरिसक्ने बताए । उनले भने ‘मंगलबारदेखि ६ नं वडाबाट राहत प्रादन गर्न सुरु गरेका छौँ, आजदेखि क्रमशः सबै वडामा शुक्रबारसम्मा बितरण गर्ने योजना बनाएको छौँ ।’ उनले हालसम्म सूचीकृतलाई राहत रकम प्रदान गर्दै जाने र कोही पीडितको सूचीमा नभएको वा छुटेको भए पुनः छानविन गरी कुनै पनि पीडितलाई नछुटाउने बताए ।
‘हामी सबै पीडितलाई राहत दिन्छौँ, सूचीकृत नभएकाको वडागत रुपमा पुनः बिबरण माग गरी दिनेछौँ’ उनले भने । नगरमा चार सय ५३ प्रतिपरिवारले रु १५ हजार तथा तीन सय ९२ परिवारले रु २० हजारका दले राहत–रकम पाउने भएका हुन् । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने भएकाले राहत–रकमले स्वस्थ खानपान र स्याहारमा मद्दत पुग्ने बताइन् ।
‘विपद् प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिले छिटोभन्दा छिटो पुनरुत्थानका कार्यक्रम सुरु गरिहाल्नुस्, यसले महिला र बालबालिकालाई मानसिक रुपमासमेत पुरानै अवस्थामा फर्काउन मद्दत पुग्नेछ’, उनले भनिन् ।कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरका सबै विपद्प्रभावित नागरिकलाई विभेग नगरी सरकारको नीतिअनुसार नै परिवारको सङ्ख्याका आधारमा राहत–रकम बितरण गरिने बताए ।
नगरको ६ नं वडाका अध्यक्ष एवं प्रवक्ता टिकाप्रसाद केसीले आफ्नो वडामा ५९ जना प्रत्यक्ष प्रभावित भएपनि ५४ परिवार मात्रै प्रभावितमा सूचीकृत भएपछि छुटेको परिवारसँग पुनः बिवरण माग गरी राहत दिने प्रक्रियामा लागेको बताए । बाढीपहिरोले नगरका पाँच सय ३० घर पूर्ण तथा तीन सय १५ घर आंशिक रुपमा क्षति भएको जनाइएको छ ।
नगरका अनुसार बाढीपहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएको जनाइएको छ । यस्तै बाढीपहिरोले नगरको एक विद्यालय पूर्ण तथा ४७ विद्यालयमा आंशिक क्षति पुगेको छ भने एक् सय १९ खानेपानी आयोजनामा क्षति पुगेको छ ।
यूनिसेफले यसअघि काभे्रपलाञ्चोककै बेथानचोक गाउँपालिकाको दुई वटा वडाका दुई ६९ परिवारलाई उक्त राहत–रकम प्रदान गरेको थियो । यस्तै यूनिसेफले केही दिनभित्र मण्डनदेउपुर नगरका करिब नौ सय परिवारलाई उक्त राहत–रकम प्रदान गर्ने जनाएको छ ।
