काठमाडौं । नेपाली सेनाका जनरलहरुको सम्मेलन सुरुभएको छ । सम्मेलनमा राष्ट्रिय सुरक्षा चुनौतीकाबारेमा समीक्षा हुने बताईएको छ । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।
बिहीबारबाट सुरु भएको सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वको सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् ।
उनले भविष्यमा देखा पर्नसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न नेपाली सेनाले पृतनापति सम्मेलनले समयानुकूल विश्लेषण गर्ने बताए । ‘बदलिँदो परिस्थितिलाई विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुनेछ’, उनले भनेका छन् ।
सम्मेलनको उद्घाटनमा सहभागी रक्षामन्त्री मानबहादुर राईले पनि विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रुपमा प्रभाव पार्ने विश्लेषण सुनाए ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरव केसीका अनुसार, नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।
