काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातीदेखि डढेलो लागेको छ । उक्त वनमा राती ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज विहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले बताए । उनका अनुसार आगलागी देब्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्नसक्छ ।
रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले विहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले जानकारी दिए । उनका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशुक्षति भएको छैन ।
यसअघि गत साघ पहिलोसाता सोही क्षेत्र महाभारत पर्वतश्रृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी बेथानचोक गाउँपालिका ५, ३, १ र २ को सिमाक्षेत्रमासमेत आइपुगेपछि हेलिकप्टर मगाइएको थियो ।
जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाई नियन्त्रणको प्रयास थालेको थियो ।
