After header

१० पदाधिकारीका लागि ११० जनाको आयोगमा निवेदन

काठमाडौँ । बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि ११० जनाको निवेदन परेको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयका अनुसार अध्यक्ष तथा सदस्यका लागि व्यक्तिगत ८० र संस्थागत रूपमा ३० जनाको आवेदन परेको हो ।

प्राप्त आवेदनलाई समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ । सिफारिस समितिकी प्रवक्ता डा. लिली थापाका अनुसार सबै आवेदन कानुन मन्त्रालयको वेबसाइटमा सोमबार प्रकाशन गरिनेछ । समितिले दुवै आयोगको अध्यक्ष तथा सदस्यका लागि इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम आवेदन फाराम भरी १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न भनेको थियो । समितिले आवेदन दिन आइतबारसम्मको समय दिएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ अनुसार दुवै आयोगमा आयोगमा अध्यक्षसहित पाँच–पाँच सदस्य रहने व्यवस्था छ । आएका आवेदनमा समितिले अध्ययन गरेर योग्य व्यक्तिहरूको सूची (सर्ट लिस्ट) तयार पारेर सिफारिस गर्नेछ ।‘परेका निवेदन र डकुमेन्टहरूमाथि अध्ययन हुन्छ । त्यसपछि प्रक्रिया पु¥याएर सर्टलिस्टको सूची प्रकाशित गरिनेछ,’ प्रवक्ता थापाले जानकारी दिईन् ।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ र मानव अधिकार आयोगका तर्फबाट डा. लिली थापा रहेको सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो ।

एक पटक पढ्नुहोस