After header

दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।

दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए ।

एक पटक पढ्नुहोस