After header

काभ्रेको पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन पहल

काभ्रे । काभे्रपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन पुनः सरोकारवालाबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पनौती नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्रालयका अधिकारी, नगरका प्रतिनिधि, सम्पदा विज्ञ, समुदायका अगुवालगायत सरोकारवाला निकायहरुबीच थप अर्को चरणमा छलफल गरिएको हो ।

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास वर्षौंदेखि भइरहे पनि विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल हुन नसकेको पनौती नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए । कार्यक्रममा सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता आवश्यक भएको उनले बताए ।

मन्त्रालयका संस्कृति महाशाखाका सहसचिव डा सुरश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्व सम्पदा महासन्धी, कार्य सञ्चालन निर्देशिका, सम्भावित सम्पदाको सूचीमा नाम लेखाउने प्रक्रिया, मनोनयन तथा सूचीकरण प्रक्रिया, खतरामा परेका सम्पदाको सूची र संरक्षित स्मारक क्षेत्रका अवधारणालगायतका महत्वपूर्ण विषयमा जानकारी गराएका थिए ।

छलफलमा सहभागीबीच पनौतीको साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका पक्षलाई आधार बनाएर त्यसलाई युनेस्कोको सूचीमा सूचीकृत गराउने रणनीतिबारे विस्तृत विचारविमर्शसमेत भएको छ । पनौतीको समग्र सम्पदा व्यवस्थापन, संरक्षण, अभिलेखीकरण र प्रवद्र्धनमा सरोकारवाला निकायबीच सहकार्य र दीर्घकालीन योजनाको खाँचो रहेको छलफलले निष्कर्ष निकालेको छ ।

विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र संघीय अङ्ग (युनेस्को)को मापदण्ड पुरा गर्ने कार्यमा लागिरहेको नगरले जनाएको छ । उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ बर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक प्रक्रियासमेत भइरहेको जनाइएको छ ।

यूनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभागहुँदै यूनस्कोमा पठाइने भण्डारीले बताए । “नगरद्वारा ब्यवस्थापकीय तयारी गरिरहेको छ, केही समेमा उक्त तयारी सकेपछि सूचीकृतका लागि ‘फाइल’ यूनेस्को पठाउने छौँ”, उनले भने । उनका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्ने÷नसक्ने बारे स्थानीयस्तरमा छलफलको तयारीसमेत गरिएको छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य विसं २०७९ मा अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पूराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । नेपालस्थित मन्त्रीपरिषद्को निर्णयपछि यूनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ ।

सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगरद्वारा साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर)धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख यूनेस्कोको तत्वावधानमा हुने नीति छ ।

यूनेस्कोको नेपालस्थित निकायले विसं २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।त्यसयता जनप्रतिनिधि तथा सरोकारवालाको वेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको जनाइयो ।

पुरातत्व विभागद्वारा पनौती नगरका ए्तिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माणसमेत भइसकेको छ । पनौती नगरको वडा नं ५, ६ र ७ नंवरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् ।

फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । नेपालस्थित पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।

जसमा काठमाडौ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

नेपाल सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ ।

एक पटक पढ्नुहोस