काभ्रे । गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थितथासिंङबेंसीमा रहेको पुलको सामान चोरेर विक्री गर्ने एक वडाध्यक्ष पक्राउमा परेका छन् । उनी उक्त फलामको पुल बगाएर बाँकी रहेको फलामका सामान कवाडीमा विक्री गर्ने मध्येका एक रहेपछि आज पक्राउ परेका हुन् ।
रोशी ७ का वडाध्यक्ष अशोक गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले आज काभ्रेभन्ज्याङ्गबाट पक्राउ गरेको हो । गौतमले कवाडी ब्यवसायीमार्फत फलामको विक्रीबापतको रकम मोवाईल बैकिङ्ग प्रणालीमार्फत भुक्तानी लिईसकेको ब्यवसायी मन्टु कुमारले प्रहरीलाई दिएको बयानका आधारमा गौतमलाई पक्राय गरेको प्रहरीले जनाएको छ । सोही बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको काभ्रेपलाञ्चोकको प्रहरीले बताएको छ ।
कवाडीमा पुल बिक्रीका लागि गौतमले नमोबुद्ध नगरपालिका–६ का अध्यक्ष टिकाबहादुर केसीसमेत साझेदारी गरेका थिए । केसी र गौतमले समझदारीमा साझेदारी गरी विक्री गरेको कवाडीका सामानको मुल्य आधा आधा गर्ने गरी टुङ्गिएको बयान दिइएको जनाइएको छ ।
गौतमले भुक्तानी लिएको भएपनि केसीले भने नगद नै बुझको कुमारले बयानमा भनेपछि गौतमलाई पक्रिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलले जानकारी दिनुभयो । घलेका अनुसार लोड गर्न बोलार्ईएका दुई टिपरलाई राती नै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई कवाडी ब्यवसायीले वडा कार्यालयको सिफारिस र वडा अध्यक्षहरुलाई बुझाएको रकमको प्रमाण देखाएका थिए । सोहि प्रमाणका आधारमा प्रहरीले ब्यवसायी र टिपर सहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाइएको छ ।
उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको र म्याद थप गरिरहेको घलेले बताउनुभयो । उहाँका अनुसार तत्काल संलग्न प्रमाणका आधारमा पक्राउ परेकालाई चोरी अभियोगमा मुद्दा चलाईएको छ । प्रहरीले कवाडी ब्यवसायीहरु भारत बिहार मोतिहारी स्थाई घर भइ हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नपा–७ तरकारी बजार बस्ने बर्ष ३२ को मन्टु कुमार, सर्लाही मलंगवा नगरपालिका–३ स्थायी घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नपा–७ तरकारी बजार बस्ने बर्ष ३९ को जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको छ ।
यस्तै सामान बोक्ने टिपर चालक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ बस्ने बर्ष ४७ को मानबहादुर तामाङ, टिपर बा ५ ख ४६२६ नम्बरको चालक रोशी गाउँपालिका–८ बस्ने बर्ष ४० को रमेश लामा, बा २ ख ४००१ नम्बरको चालक पक्राउ परेका थिए । उनिहरुलाई तीन दिनअघिनै चोरीसम्बनधी मुद्दा दर्ता गरिएको थियो ।
