काठमाडौ । सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुलाई अहिले बिहान ९ बजेका लागि छलफलमा बोलाएका छन् । आइतबार बिहान ९ बजे बैठक बस्नेगरी सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठक सिंहदरबारमा बस्ने जनाईएको छ ।
प्रेस सल्लाहकार अधिकारीका अनुसार सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको थियो ।
शुक्रबारदेखि भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि बैठक बसेको थियो । उक्त बैठकमा भिजिट भिसाको विषयमा संसदमा उठेका प्रश्नहरूको जबाफ गृहमन्त्री रमेश लेखकले दिएका थिए।
