काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत क्षेत्रपारी) डाँडापारीमा अवस्थित महाभारत गाउँपालिकाबाट ‘कन्सुलर’ सेवा सुरु गरेको छ । गाउँपालिकाले विदेशमा रहेका श्रमिकको हकमा बैदेशिक रोजगार विभागको स्वीकृतिमा स्थानीय रोजगार सेवा केन्द्रमार्फत सेवा प्रदान गर्न लागेको हो ।
श्रम स्वीकृति गरी विदेशमा रहेका श्रमिकको हकमा बैदेशिक रोजगार विभागको रोजगार कल्याणकारी सेवाहरु (खोजतलास, उद्धार, क्षतिपूर्ति आदि) मार्फत गर्दै आएकोमा यही असारबाट केन्द्रमार्फत सेवा प्रदान सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमार्फत गाउँपालिकाको केन्द्रबाट जुनसुकै अवस्थामा रहेका स्थानीय नागरिकलाई सेवा प्रदान थालिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
“सेवा सुरु भैसकेकाले खोजतलास, उद्धार, क्षतिपूर्ति आदि सेवा लिनुपर्ने व्यक्ति तथा परिवारले यथाशीघ्र केन्द्रको सम्पर्कमा आउन अनुरोध गरिसकेका छौँ”, जिम्बाले भने ।केन्द्रमार्फत विदेशमा रहेका व्यक्तिको खोजतालस एवं उद्धार, विदेशमा कुनै कारण मृत्यु भएमा शव झिकाउन तथा घरसम्म पु¥याउन, घाइते वा मृतकको हकमा क्षतिपूर्ति वा बिमा रकम दावी गर्न, समस्यामा परेकालाई जानकारी एवं गुनासो गर्न र आवश्यक कागजातका लागि कानुनी हकदार प्रमाणित गराउन सकिने जनाइएको छ ।
यस सेवाबाट विदेशमा रहेका श्रमिकको हकमा स्थानीयस्तरमै समस्या सामाधान गर्न सकिने अपेक्षा गरिएको छ । काभ्रेको १३ वटा स्थानिय तह मध्ये यस सेवा सञ्चालन गर्ने पहिलो स्थानिय तह महाभारत गाउँपालिका रहेको हो ।
