After header

कर नतिर्ने इटा उद्योग बन्द गर्दै काभ्रेको पाँचखाल नगरपालिका

काभ्रे । पाँचखाल नगरपालिकाले कर नतिर्ने इटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णय अनुसार बन्द गर्न लागिएको नगरले जनाएको छ ।पाँचखालको नगर सभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता व्यवसाय कर चुक्ता गर्न नगरले पटकपटक पत्राचार गर्दासमेत वेवास्ता गरेकाले २०८१ चैत २६ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कर चुक्ता नगरेसम्म इट्टा बिक्री बन्द गरिएको थियो ।

नगरमा सञ्चालित इट्टा उद्योगले समयमै नगरलाई तिर्नुपर्ने हालसम्मको कर नबुझाएकाले नगर कार्यपालिकाको गत असार १८ गतेको निर्णय अनुसार शील गरिएको जनाइएको छ ।नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरको पत्राचारलाई वेवास्ता गरी व्यवसायीले अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसमेतको नगरका प्रतिनिधिको टोलीले इटा–भट्टा शील गर्ने प्रकृया अगाडि बढाएको छ । नगरलाई कर तिर्न बाँकी रहेका पाँच भट्टा मध्ये तीन वटा सोमबार शील गरिएको र अन्य दुई शील हुने प्रकृयामा रहेको सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार पाँचखाल–१२ मा रहेको श्री जय भिमसेन इट्टा उद्योग प्रालि र पलाञ्चोक भगवती फिक्स चिम्नी इट्टा उद्योग तथा पाँचखाल–७ स्थित सुवर्णेस्वरी इट्टा उद्योग प्रालि शिल गरिएको हो । यस्तै पाँचखाल–८ मा रहेको उपकार इट्टा उद्योग प्रालि र वडा नं ९ स्थित पलाञ्चोक भगवती ब्रिक इन्डष्ट्रिज प्रालि शीलको प्रक्रियामा रहेको जनाइएको छ । पाँचखालमा आठ इटा उद्योग उद्योग सञ्चालनमा छन् ।

यसैबीच गत जेठ अन्तिमसाता काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेको जनाउँदै चार क्रसर तथा इट्टा उद्योग बन्द गराएको थियो । नगरप्रमुख टोकबहादुर वाईबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग बाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इट्टा उद्योग गरी चार उद्योगमा ताला लगाएको थियो ।

एक पटक पढ्नुहोस