काभ्रे । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन ।
अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा सहित आज काभ्रेको बनेपामा लायन्स क्लब अफ बनेपाको आयोजनामा एक दिने विपद् सम्बन्धी तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।
विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको उनले बताए । शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले प्रशिक्षण प्रदान गरेका थिए ।
एक दिने उक्त विपद् तालिममा प्रशिक्षार्थीलाई सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास समेत गराईएको थियो भने तालिममा ५२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
