काभ्रे । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकको बनेपास्थित प्रहरीका दुई भवनको स्थानीय युवाको अगुवाईमा सरसफाई गरिएको छ ।शनिबार जिल्ला ट्राफिक कार्यालय र शुक्रबार इलाका प्रहरी कार्यालयको भवन सरसफाई गरिएको हो । स्थानीय युवाले ती दुई क्षतिग्रस्त कार्यालय सरसफाईका लागि स्थानीयसँग अपील गरेका थिए । स्थानीय यशकुमार रंजितले सर्वाजनिक सम्पत्तिको जगेर्ना गर्न सरसफाईमा जुटेको बताए । कार्यालय मर्मत गर्न सजिलो होस् भन्ने उद्देश्यले सुरक्षा निकायको सरसफाई गरिएको युवाको भनाई छ ।
प्रदर्शनका क्रममा जिल्ला ट्राफिक कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने इप्रकाको भवनमा आंशिक क्षति पुगेपनि फर्निचरलगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएको थियो । यस्तै पाँचखाल इप्रका र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको थियो ।
आन्दोलनबाट जिल्लाका विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा ठूलो क्षति पु¥याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको स्थानीय प्रशासनको प्रारम्भिक बिबरणमा जनाइएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकका दुई जनाले काठमाडौमा ज्यान गुमाएका छन् ।
यसैबीच स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्याङ्कन कार्य अघि बढाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सार्वजनिक तथा ब्यक्तिगत सम्पत्ति तोडफोड गनर्,े आगजनी गर्ने, ब्यक्ति तथा समुहको पहिचान थालिएको बताए । तोडफोड र क्षतिबारे थप विवरण सङ्कलन भइरहेको र सुरक्षा ब्यवस्थालाई थप कडा पारिएको प्रशासनको भनाइ छ ।
