धनकुटा । निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।
१८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक सम्पन्न गरेका हुन् । निर्वाचनपूर्वका सबै काम पूरा भएको र मतदानस्थलको व्यवस्थापन र मतदानको काम मात्रै अब बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हरेक मतदान केन्द्रमा सुरक्षा कर्मी बाहेक ६ जना कर्मचारी परिचालन भएका छन् ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदानस्थलमा सर्बदलीय बैठक सम्पन्न भएको हो । इङ्नामले जिल्लाका सबै मतदान स्थलमा पुगेका कर्मचारीले पुगेकै दिन सुचना टाँस गर्नुका साथै मंगलबार सर्वदलिय बैठक गरी मतदान स्थल निर्माण गर्न थालेको जानकारी दिए ।
बुधबारसम्म मतदानस्थल तयार गरेपछि २१ गते मतदान हुनेछ । एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा ७ वटा स्थानीय तहमा ६० वटा वडा छन् । धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । धनकुटामा तीन जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
