काभ्रे । काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय मधुकुमार चौलागाई आफ्नो निर्वाचन क्षेत्र रोशी पुगेर जनताको गुनासो सुनेका छन् । रोशी गाउँपालिकाका स्थानीयवासीले विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याबारे खुलेर माननीय चौलागाईलाई गुनासो राखेका थिए ।
गाउँपालिकाका १२ वटै वडाका नागरिकले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा मल–बिउ व्यवस्थापन लगायतका विषयमा तत्काल ध्यान दिन माननीय मधुकुमार चौलागाईलाई जनताले आग्रह गरेका छन् । स्थानीयवासीका अनुसार रोशी गाउँपालिकाका अधिकांश वडामा अझै पनि सुरक्षित र स्थायी मोटरबाटोको अभाव रहेको बताएका थिए ।

विशेषगरी बीपी राजमार्गसँग १२ वटै वडालाई जोड्ने स्थायी र सुरक्षित सडक निर्माण अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको उनीहरूको भनाइ थियो । वर्षायाममा सडक अवरुद्ध हुने, यातायात सञ्चालनमा समस्या आउने तथा बिरामी र कृषिजन्य उत्पादन ओसारपसार गर्न कठिनाइ हुने गरेको गुनासो स्थानीयले चौलागाईलाई सुनाएका थिए ।
शिक्षा क्षेत्र पनि पालिकामा उत्तिकै चुनौतीपूर्ण रहेको स्थानीयको भनाइ रहेको थियो । सामुदायिक विद्यालयहरूमा स्थायी शिक्षकको अभाव, आवश्यक शैक्षिक सामग्रीको कमी तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार नहुँदा विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर परेको उनीहरूले माननीय चौलागाई गुनासो पोकेका थिए ।

विद्यालयहरूमा दक्ष जनशक्ति र पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्न सरकारको विशेष पहल आवश्यक रहेको उनीहरूको भनाई रहेको थियो । गुनासो पोक्दै स्थानियले स्वास्थ्य सेवा सुधारमा पनि आवश्यक रहेको बताए । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा दक्ष स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा नियमित स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थिए ।
सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयले माग गरेका छन् । खानेपानीको समस्या पनि धेरै वडामा अझै समाधान हुन नसकेको भन्दै नागरिकले सबै वडामा स्वच्छ, सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
कृषि क्षेत्रका समस्याले किसानलाई सबैभन्दा बढी प्रभावित बनाएको स्थानीयको भनाइ रहेको थियो । समयमै रासायनिक मल र गुणस्तरीय बिउ उपलब्ध नहुनु, उत्पादन लागत बढ्दै जानु तथा दीर्घकालीन कृषि नीतिको अभावले किसान निराश बनेको उनीहरूको भनाई थियो । कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, बजार व्यवस्थापन तथा किसानमैत्री कार्यक्रम सञ्चालन गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनीहरुको माग थियो ।

स्थानीयको गुनासो र मागको सम्बोधन गदै माननीय मधुकुमार चौलागाईले रोशी गाउँपालिकाका नागरिकले उठाएका विषयहरू अत्यन्तै जायज र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए थिए । उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रका समस्याको समाधानका लागि सम्बन्धित मन्त्रालय, निकाय तथा सरकारसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता समेत माननीय चौलागाईले जनता माझ विश्वास व्यक्त गरेका छन् ।
“जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नु हाम्रो पहिलो दायित्व हो । रोशी गाउँपालिकाका नागरिकले उठाउनुभएका सबै विषयलाई प्राथमिकताका साथ सम्बन्धित निकायसम्म पु¥याएर आवश्यक सहयोग र पहल गर्नेछु,“ माननीय चौलागाईले भने ।स्थानीयवासीले भने नेताहरूले चुनावका बेला मात्र होइन, जनताको समस्या समाधानमा व्यवहारिक रूपमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले रोशी गाउँपालिकाको समग्र विकासका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन समेत स्थानियले आग्रह गरेका छन् । रोशी गाउँपालिकाका जनताले उठाएका यी आधारभूत मागहरू समयमै सम्बोधन हुन सके गाउँपालिकाको समग्र विकासले गति लिने र स्थानीयको जीवनस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ ।
