काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म आउन नसक्ने अशक्त तथा बिरामी लाभग्राहीलाई घरदैलोमै पुगेर सेवा प्रवाह सुरु गरेको छ ।शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा विभिन्न कारणले बिरामी भई वडा कार्यालयसम्म आउन असमर्थ लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेको हो ।
सेवाग्राहीले कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउँदै स्थानीय सरकारलाई नागरिकको घरदैलोसम्म पु¥याउने प्रयासस्वरूप यस्तो सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष विनोद खत्रीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुनै पनि अशक्त तथा बिरामी नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरदैलोमै पुगेर नवीकरणको व्यवस्था गरिएको बताए ।

उनले भने, “अशक्त, बिरामी तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणकै लागि वडा कार्यालयसम्म बोलाउनु उचित हुँदैन । उहाँहरूको अवस्था र समस्यालाई मध्यनजर गर्दै वडा कार्यालय आफैं घरदैलोमा पुगेर सेवा दिने व्यवस्था गरेका हौँ।”
अध्यक्ष खत्रीका अनुसार स्थानीय सरकारको सेवा नागरिकले सहज, सरल र सम्मानपूर्वक प्राप्त गर्न पाउनुपर्छ । विशेषगरी सामाजिक सुरक्षा भत्ता जस्तो राज्यको प्रत्यक्ष सामाजिक संरक्षणसँग जोडिएको सेवामा लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भन्ने विषयमा वडा कार्यालय सचेत रहेको उनको भनाई थियो ।
वडा कार्यालयले घरदैलो सेवा आवश्यक पर्ने लाभग्राहीको विवरण संकलन गरी क्रमशः सम्बन्धित व्यक्तिको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गर्ने जनाएको छ । यसबाट कार्यालयसम्म आउन नसक्ने अशक्त तथा बिरामी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणमा सहजता पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहले नागरिकको घरदैलोमै पुगेर सेवा दिन थालेसँगै पनौती वडा नं. ५ को यो पहललाई सेवाग्राहीमैत्री स्थानीय शासनको अभ्यासका रूपमा हेरिएको छन् ।
