काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेवा कार्यालय पनौतीको आयोजनामा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज इन्द्रेश्वर महिला बचत समूहमा आयोजित कार्यक्रममा सहकारीका सदस्यहरूबीच वित्तीय कारोबार, बचतको महत्व, संस्थाका सेवा तथा सुविधालगायतका विषयमा छलफल भएको सस्थाले जनाएको छ ।
सेवा कार्यालयको लघुवित्त शाखा प्रमुख मीना श्रेष्ठको व्यवस्थापनमा सम्पन्न कार्यक्रम सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक रमेशप्रसाद जंगमको संयोजकत्वमा आयोजना भएको थियो । कार्यक्रममा संयोजक जंगमले स्वागत मन्तव्य राख्दै सदस्य र संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताएका थिए ।
कार्यक्रममा लघुवित्त महाशाखा प्रमुख राजेन्द्र श्रेष्ठले महिला बचत समूहको महत्व, संस्थाको परिचय, सानो–सानो बचतको दीर्घकालीन महत्व तथा संस्थाले उपलब्ध गराउँदै आएका परिमार्जित सेवा र सुविधाबारे जानकारी गराएका थिए । उनले सदस्यका सुझाव तथा प्रतिक्रियालाई सम्बोधन गर्दै संस्थाको साधारण सभामा सदस्यहरूको भूमिका र सहभागिताको महत्वबारे समेत प्रकाश पारेका थिए ।

त्यसैगरी, सेवा कार्यालय व्यवस्थापक रामचन्द्र थापाले २० वर्षअघि संस्थामा सदस्य बन्दा रहेको अवस्था र हालसम्म संस्थासँग आबद्ध रहेर वित्तीय कारोबार गर्दा प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए । उनले समूहमा आबद्ध रहनुका फाइदा उल्लेख गर्दै बदलिँदो समयअनुसार नयाँ सोच र नयाँ तरिकाबाट वित्तीय कारोबार गर्नुपर्ने भनाई राखेका थिए । समूहमा समस्या उत्पन्न हुँदा निरुत्साहित भएर पछि हट्नुभन्दा एकजुट भई समस्याको सामना गर्न सके थप उपलब्धि हासिल गर्न सकिने उनको भनाई रहेको थियो ।
कार्यक्रमको समापन गर्दै संयोजक रमेशप्रसाद जंगमले समूह भनेको एकअर्कालाई सहयोग गर्ने, आर्थिक रूपमा सक्षम बन्ने र अप्ठ्यारो परिस्थितिमा आपसी साथ दिने साझा मञ्च भएको बताए । उनले बिन्धवासिनी साकोससँग निरन्तर आबद्ध रहँदै आपसी सहकार्य, एकता र वित्तीय कारोबारलाई थप सुदृढ बनाउन सदस्यहरूलाई आग्रह गरेका थिए । सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव तथा सकारात्मक प्रतिबद्धतासहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सस्थाले जनाएको छ ।
