पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो ।
