काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
काँग्रेसका केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले कोरोनाभाइरस नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
उनले स्याङ्जाका पाँचवटा नगरपालिका र ६ वटा गाउँपालिकामा सर्जिकल मास्क, स्यानिटाइजर, पीपीईलगायतका सामग्री सहयोग गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले अहिलेसम्म वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालि र हरिनास गाउँपालिकासहित सबै पालिकामा सहयोग सामग्री पुगिसकेको जानकारी दिए ।
कोरोनाले विश्व नै आक्रान्त रहेको बेलामा एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म पनि रहेको उनको भनाइ छ ।
