रामकुमारको लोकसेवा यात्रा : अनपेक्षित सहसचिव !

6 साउन, काठमाडौं । ०७६ असोजमा नेपाल सरकार सहसचिवको आवेदन खुल्दा रामकुमार महतो उपसचिवको तयारीमा केन्द्रित थिए । तीन/तीन पटक उपसचिवको परीक्षामा हार बेहोर्नुपरे पनि उनको हिम्मतले हरेस खाएन । बरु हिम्मतको पारो झन् बढाएर मेहनतको आयतनलाई दोब्बर बनाए । किनकि रामकुमारको एउटै ध्येय थियो– उपसचिव बन्ने ।

महतोले तीनवटा विषयमा स्नातकोत्तर गरिसकेका थिए । शाखा अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पुगिसकेको थियो । यसर्थ, उनी सहसचिवको पनि योग्य उमेद्वार थिए । त्यसैले, गत २, ३ र ४ पुसमा पहिलो पटक सहसचिवको परीक्षा हलमा प्रवेश गरे ।

त्यतिबेला रामकुमार शैलुङ गाउँपालिका, दोलखाको प्रशासकीय अधिकृतको भूमिका सम्हालिरहेका थिए । ‘सहसचिव हुने मेरो लक्ष्य नै थिएन । हुन्छु भनेर आश पनि गरेको थिइनँ’, रामकुमार भन्छन्, ‘शाखा अधिकृत भएकाले अहिलेलाई उपसचिव भए पुगिहाल्थ्यो ।’

सहसचिवको परीक्षा दिएलगत्तै उनी उपसचिवको परीक्षा हलमा प्रवेश गरे । उपसचिवमा यो उनको चौथोपटकको परीक्षा थियो । तर, रिजल्ट सहसचिवको पहिला आयो । लोकसेवाले सिफारिस गर्ने १० जना सहसचिवको लिस्टमा रामकुमारको पनि नाम निस्कियो ।

यो नतिजा रामकुमार स्वयंका लागि अप्रत्यासित थियो । तर, उनको समुदायका लागि भने गर्वको विषय थियो । किनकि कुसवाह (महतो) समुदायका लागि सहसचिव त परको कुरा अधिकृतसमेत रामकुमार पहिलो थिए ।

‘अफिसको जिम्मेवारीले पनि पहिले उपसचिवमा तयारी पुगेको थिएन । कन्सल्ट्यान्सीबाटै नमुना परीक्षापछि दिएर आइडिया पनि लिएँ । पढाइसँगै लखेनमा निकै अभ्यास गरेँ’, रामकुमारको मुहार उज्यालिन्छ, ‘त्यसपछि त सहसचिवमै नाम निस्कियो ।’

जब ४० वर्षीय रामकुमार सहसचिव बने, उनले २२ वर्ष अगाडिको विगतलाई सम्झिए ।

०५७ मा पियनको परीक्षा दिएको प्रवेशपत्र आफ्नो फेसबुक वालमा पोस्ट गरें । र, लेखे, ‘राष्ट्रसेवाका लागि पद मात्र ठूलो कुरा होइन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजिरहनु पर्दैन, आफैं आउँदोरहेछ । त्यतिबेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो । अहिले ४ वटा विषयमा मास्टर्स छ । देशको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । निष्ठापूर्वक सेवामा समर्पित हुने नै छु ।’

कुनै पनि सफलता उसको धरातललाई अलग्याएर हुन सक्दैन । हो, रामकुमारले आफ्नो त्यही धरातल सम्झिए ।

रामकुमारका दाजुले हुलाकी मुखियामा नाम ननिकालेको भए सायद उनलाई लामो समयसम्म लोकसेवा कुन चराको नाम हो भन्ने थाहा हुँदैनथ्यो ।

रामकुमारको समुदायको परम्परागत काम तरकारी खेती हो । रामकुमार पनि सानो छँदा बिहानभरि तरकारी बारीमा काम गर्थे र दिउँसो स्कुल जान्थे । स्कुलबाट फर्किएपछि फेरि उनको दैनिकी तरकारी बारी नै हुन्थ्यो ।

उनको गाउँ मिथिला नगरपालिका–२, धनुषामा ८० प्रतिशत महतो समुदायको बसोबास थियो । उनीहरुले सरकारी जागिर भनेको शिक्षकलाई मात्र बुझ्थे ।

‘दाइकै उत्प्रेरणाले सरकारी जागिरे पढेर पनि भइँदोरहेछ भन्ने मैले थाहा पाएँ । त्यसैले एसएलसीको परीक्षापछि सिधै लोकसेवाको किताब समाएँ’, रामकुमार भन्छन्, ‘०५७ मा पियन पदको ठूलो संख्यामा विज्ञापन खुल्यो, मैले पनि परीक्षा दिएँ ।’

तर, रामकुमारलाई न त्यो परीक्षाको नतिजा थाहा भयो, न त त्यसपछि कहिल्यै पियन पदको विज्ञापन गरेको नै । तर, उनलाई त्यतिबेला क्याम्पसको किताबभन्दा लोकसेवाको किताबले नै आकर्षण गर्‍यो ।

उनका लागि पत्रपत्रिका सबैभन्दा ठूलो अध्ययन सामग्री थिए । प्रवीणता प्रमाणपत्र तह सकेपछि त उनी क्याम्पसको किताब छाडेर लोकसेवाकै किताबमा मात्र घोरिन थाले ।

त्यतिबेला गृहयुद्धको जगजगी थियो । तत्कालीन माओवादीले दाङमा आक्रमण गर्‍यो । रामकुमारलाई सहलेखापालको परीक्षा दिन तुलसीपुर जानु पर्ने थियो । उनी सम्झन्छन्, ‘मैले लोकसेवालाई एक मात्र उद्देश्य बनाएको थिएँ । त्यसैले डराई–डराई गएर परीक्षा दिएँ ।’

त्यही परीक्षाले रामकुमारलाई सहलेखापाल बनायो ।

जिन्दगी नै तरकारी खेती हो भन्ने कुसवाह समुदायका लागि रामकुमारको जागिर सनसनीपूर्ण बन्यो । पढेपछि जागिर पाइँदोरहेछ भन्ने कुराले धेरैलाई अचम्मित तुल्यायो । धेरैले विश्वास गरेनन् । कतिले भनसुनमा जागिर खाएको आशंका गरे । कतिले जागिरबारे प्रश्न गर्दै आइडिया लिएको भने । रामकुमार जवाफ दिन्थे, ‘अंग्रेजी र मैथली भाषामा परीक्षा हुँदैन । नेपाली भाषालाई राम्रो बनाउनुपर्छ ।’

रामकुमारको परिवारमा खुशीको सीमा रहेन । छोराकै जागिरका लागि उनकी आमाले भाकल गरेकी थिइन् । बाबा–आमा देवी देउताकहाँ सरकारी जागिरकै वर माग्थे । रामकुमार भन्छन्, ‘मैले जागिर पाएपछि घरमा ठूलै भोज–भतेर भयो ।’

०५९ सालमा सह-लेखापालको रुपमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सल्यान पुग्दा रामकुमारको उमेर मात्र २० वर्षको थियो । उनी विद्यार्थी जीवनबाटै सार्वजनिक सेवाका क्षेत्रमा प्रवेश गरेका थिए ।

उनले लेखासम्बन्धी किताबका पाना त कण्ठस्थ पारेका थिए । तर, सामाजिकीकरण, र कामको ट्रेन्डबारे अनविज्ञ नै थिए । उमेर सानो भएकाले उनी हेपाइमा पर्थे । ‘मैले नियममात्र बुझ्थेँ । त्यहीअनुसार काम गर्न खोज्थेँ । तर, थुप्रै काममा दबाव आउँथ्यो’, उनी भन्छन्, ‘नियमबाट बाहिर गएर काम नगर्दा त्यो दबावलाई खप्न नसकेर थुप्रै पटक रोएको छु ।’

उनलाई सहलेखापालमै अड्किनु थिएन । त्यसैले, कामसँगै नियमित अध्ययनलाई छाडेका थिएनन् । फलस्वरुप १० वैशाख, ०६६ मा उनी सहलेखापालबाट लेखापाल बने । र, चरण तथा घाँसे बाली बिउ बिजन फार्म, जनकपुरमा पुगे ।

लेखापालपछि उनलाई लेखा अधिकृत बन्नु थियो । सहकर्मीहरुले उस्काउँथे, ‘तिम्रो भाषा राम्रो छ । अधिकृतमा प्रयास गर्दा हुन्छ ।’ यसले रामकुमारको आत्मबललाई थप बलियो बनाउँथ्यो ।

सरकारी सेवासँगै रामकुमारले पढाइमा पनि उत्तिकै मेहनत गर्थ थाले । रामकुमार भन्छन्, ‘म सम्पादकीयको पारखी थिएँ । सम्पादकीय पढ्नुभन्दा मजा मलाई अरु केही गर्दा लाग्दैनथ्यो ।’ सम्पादकीयको मिठास, भाषाशैली र तर्कपूर्ण कुराले उनलाई आकर्षण गर्थ्यो ।

बिहान चार बजे नै उठ्ने । त्यसपछि अफिसको काम । साँझ घर फर्केपछि पढाइ । यो नै रामकुमारको दैनिकी थियो । यसरी नै उनले दुई पटकसम्म अधिकृतको परीक्षा दिए । नाम निस्किएन । यसले रामकुमारलाई कत्ति पनि निराश बनाएन । बरु अझै मेहनत पुगेन कि भनेर सोचमग्न बनायो । उनी पुनः पढाइमा घोटिए । मेहनतपूर्वक तेस्रो पटक पनि अधिकृतको मैदानमा भिडे । र, ०६९ सालमा अधिकृत भैछाडे ।

रामकुमार भन्छन्, ‘कुनै काम सुरु गरेँ भने त्यसलाई टुंगोमा नपुर्‍याई नछोड्ने स्वभाव छ मेरो । चाहे त्यो, काम होस् या पढाइ ।’

अधिकृत भएपछि गाउँमा रामकुमारको कद अझ उँचो भयो । महतो समुदायका उनी एकमात्र प्रशासनिक अधिकृत थिए । त्यसैले, उनको घरमा कोही शुभकामना दिन आउँथे त कोही उनीबाट सिक्न आउनेको भिड लाग्थ्यो ।

‘अधिकृत भएपछि गाउँमा मैले निःशुल्क लोकसेवाको तयारी कक्षाकै व्यवस्था गरेको थिएँ’, रामकुमार भन्छन्, ‘४० जनाको कोटामा १०० जनाभन्दा बढी मानिस आउने भएर व्यवस्थापन नै गर्न गाह्रो हुन्थ्यो,’ रामकुमार समुदायका एक उत्प्रेरक थिए ।

तर, कार्यक्षेत्रमा भने रामकुमारले थुप्रै अप्ठ्याराहरुको सामना गर्नुपर्‍यो । अधिकृत भएपछि उनी इलाका प्रशासन कार्यालय सप्तरीमा पुगे । त्यसपछि फेरि कार्यकारी अधिकृतको रुपमा लाहान नगरपालिका ।

रामकुमार आफ्नो रणनीति सुनाउँछन्, ‘पहिला आफैंबाट सुधार गर्नुपर्छ भन्ने मेरो मूल मन्त्र हो । त्यसका लागि कर्मचारीले पहिला आफ्नो व्यवहार र जीवनशैलीलाई सुधारेर कुशल बनाउनुपर्छ ।’

लाहान नगरपालिकामा पुगेपछि उनले माकुराले जालो लगाएको आफ्नो कार्यकक्षलाई चिरिच्याट्ट पारे । सेना र स्थानीयसँगको सहकार्यमा नगरपालिकाको सरसफाइलाई तीब्रता दिए । उनी भन्छन्, ‘पछि त यति जागरण आयो कि जनता स्वतस्फूर्त सरसफाइमा जुट्न थाले ।’

तर, करिब एक दशकदेखि नै लाहानमा भूमिगत समूहको जगजगी थियो । कार्यालयमा कर्मचारीहरु कमै मात्र बस्थे । प्रायः कर्मचारीहरुले गोप्यरुपमा काम गर्थे । त्यस्तोबेला कार्यालयमै पुगेर काम गर्नु रामकुमारका लागि ठूलो चुनौति थियो ।

नभन्दै उनी भूमिगत समूहको निशानामा परे । उनलाई भारतीय नम्बरबाट धम्कीपूर्ण फोन आइरहन्थ्यो । फोनमा भूमिगत समूहले ठूलो रकमको डिल गर्थ्यो ।

बिल भरपाइ गरेर भूमिगत समूहलाई बिटा बुझाउनका लागि रामकुमारको नैतिकताले दिएन । उनले फोनमा आफ्नो तलवको स्केल सुनाउँदै भनिदिन्थे, ‘तपाईंहरुका लागि मैले कर्मचारीलाई पैसा माग्न सक्दिनँ । किर्ते बिल भरपाइ मबाट हुँदैन ।’

यति भनेकै कारण उनले ठूलो धम्कीको शिकार हुनुपर्‍यो । रामकुमार थप्छन्, ‘ज्यान मार्ने धम्की आइरहन्थ्यो । घरमा जाँदा पनि लुकेर जानुपर्ने अवस्था थियो ।’

सिराहाबाट ज्यान बचाएर उनी जिल्ला विकास समिति धनुषामा सरुवा भए । रामकुमार भन्छन्, ‘लाहान नगरपालिकामा उपसचिवको दरवन्दी हो । मपछि अहिलेसम्म पनि त्यहाँको पद रिक्त छ ।’

धनुषाबाट रामकुमार गौशाला नगरपालिका, महोत्तरी पुगे । त्यहाँ पनि उनले कर्मचारीलाई सेवाहीग्राहीसँग मिठो बोल्नुपर्छ भन्ने संस्कारको विकास गरे । ‘धेरै गर्नुपर्दैन, कर्मचारीले मात्र हाँसेर काम गरिदिए पनि सेवाग्राही खुशी हुन्छन्’, उनी भन्छन्, ‘त्यहाँका जनताले अहिले पनि आइदिनुपर्‍यो भन्दै मलाई बोलाउनुहुन्छ ।’

रामकुमार फेरि कार्यकारी अधिकृतका रुपमा ईश्वरपुर नगरपालिका सर्लाहीमा पुगे । उनी योजना शाखामा भएकाले बेला–बेला राजनीतिक नेता–कार्यकर्तासँग ठोक्किनु स्वभाविक थियो । त्यहाँ भने उनी प्रदेश सांसद सञ्जय यादवको तारो बने । कारण थियो– सांसदले भने अनुसारका योजना फर्छ्यौट नगर्नु ।

‘भारतीय गाडीमा १०/२० जना मानिस ल्याउनुहुन्थ्यो र मलाई जबरजस्ती योजना सम्झौता गराउन थाल्नुहुन्थ्यो’, रामकुमार त्यतिबेलाको सकसबारे बोल्छन्, ‘कहिले योजना ल्याएर गर् भन्नुहुन्थ्यो । कि भुक्तानी दे भन्दै धम्की दिनुहुन्थ्यो । तर, मैले नियमभन्दा बाहिर गएर काम गरिनँ ।’

एक दिन त यादवले कार्यालयमा बसिस् भने मार्दिन्छु भन्नेसम्मको धम्की दिए । त्यतिबेला उनले शालीन भाषामा जवाफ फर्काएका थिए, ‘मलाई मारेर राम्रो हुन्छ भने जहाँ भन्नुहुन्छ, म आइहाल्छु । तर, कार्यालयमा अनुपस्थित नभए ममाथि विभागीय कारबाही हुन्छ । मेरो जिम्मेवारीको बारेमा पनि त मैले जवाफ दिनुपर्छ ।’

आफूमाथि निरन्तर दबाव बढ्न थालेपछि उनी अडियो रेकर्डसहित मिडियामा पुग्नुपरेको थियो ।

अधिकांश तराई भेगका जनता रामकुमारको अनुहार देखेपछि खुशी हुन्थे । काम गरेर कार्यलयबाट फर्कँदै गर्दा जनताले भन्थे, ‘ओहो ! यहाँ त हाम्रै मान्छे हुनुहुँदोरहेछ ।’ सेवाग्राहीको प्रफुल्लतामा रामकुमारको खुशी जोडिन्थ्यो ।

समावेशिताको अवधारणालाई रामकुमारले कार्यक्षेत्रमै अनुभूति गरेका छन्, ‘सरकारी कार्यालय भनेको सेवाप्रदायक हो । र, सेवाग्राहीले सेवा लिने ठाउँमा आफ्नो अनुहार खोज्दोरहेछ’, उनी भन्छन्, ‘जव सेवाग्राहीले कार्यालयमा आफ्नो फेस पाउँछ, सेवा नलिए पनि खुशी भएर फर्कन्छ । यसले द्वन्द्वलाई पनि कम गराउँछ ।’

०००

कार्यालयको कामसँगै रामकुमार ०७३ सालदेखि उपसचिको तयारीमा जुटेका थिए । उनी भन्छन्, ‘म प्रायः गाउँ एरियामा बसेँ । त्यहाँ बस्दा काम मात्र गरिनँ । मानिसहरुको दुःख, अवस्था र भूगोललाई पनि अध्ययन गरें । त्यो कुरा मैले लोकसेवाको परीक्षामा पनि व्यक्त गरें ।’

उनले कहिल्यै एक महिनासम्म पनि काठमाडौं बसेर लोकसेवाको तयारी गरेनन् । कार्यालयको कामबाट बचेको समय नै अध्ययनका लागि छुट्याए ।

रामकुमार आफ्नो अनुभव सुनाउँछन्, ‘आफ्नो स्वास्थ्य नै बिगारेर पढ्नुहुँदैन । तर, कहिलेकाँही कुनै च्याप्टर बिहानसम्म लगाएर भए पनि सक्थेँ ।’

तर, धेरै पढेर सहसचिव भएको उनी मान्दैनन् । भन्छन्, ‘मानिसले जानेको सबै कुरा लेख्न सक्दैन । त्यसैले, आइडिया र लेखनमा अभ्यास गर्नुपर्छ ।’

यसपटक उनको नाम ननिस्केको भए जिन्दगी भर परीक्षा दिइरहने बताउँछन् उनी । र, यो उपलब्धीलाई रामकुमारले विरलै पाउने अवसरको रुपमा लिँदै नमुना सेवा दिनुपर्छ भन्ने सोच बनाएका छन् ।

कर्मचारीप्रति रामकुमारको धारणा छ, ‘कर्मचारी भनेको काम गर्नका लागि । यो ठीक र यो बेठीक भनेर छुट्टाएर बस्नका लागि होइन । राजनीतिबाट कर्मचारीलाई नीति, कानुनअनुसार काम गर्न चाहिँ लगाउनुपर्छ ।’

एक पटक पढ्नुहोस