के हामीलाई आफुभित्रको क्षमता थाहा हुँदैन ?

तपाईं कति द्रुत गतिमा दौडन सक्नुहुन्छ ? कति समयसम्म ? सायदै लेखाजोखा गर्नुभएको होला । यद्यपि तपाईंले अनुमान गर्न सक्नुहुन्छ, आफ्नो दौडको तिब्रता । अनि समय पनि ।

मानौं खुला सडकमा तपाईं दौडन सुरु गर्नुभयो । तपाईं एउटा निश्चित गति र समयसम्म दौडन सक्नुहुन्छ । अब तपाईंले हिसाब–किताब निकाल्नुहुन्छ, ‘म यति द्रुत गतिमा दौडन सक्छु । यति समयसम्म दौडन सक्छु ।’ के तपाईंको दौडने क्षमता यत्ति नै हो ?

होइन ।

तपाईंको दौडने क्षमता त त्यसबेला मात्र थाहा हुन्छ, जब तपाईंलाई पछाडिबाट बाघले लखेटिरहेको हुन्छ । मानौं, तपाईंलाई हिंस्रक बाघले लखेट्दैछ । त्यसबेला तपाईं कति बेतोडले दौडनुहुन्छ ? तपाईं कति तिब्रतासाथ दौडनुहुन्छ ? तपाईंको दौडने वास्तविक क्षमता हो यो । यस घडीमा मात्र तपाईं आफ्नो पूर्ण क्षमताले दौडनुभयो ।

यसको अर्थ के भने, हामी आफ्नो क्षमतालाई पूर्णताका साथ प्रयोग गरेकै हुँदैनौं । दौड एक दृष्टान्त मात्र हो । हामी हरेक काम गर्दा वा दैनिक जीवन उपभोग गरिरहँदा आफ्नो क्षमतालाई भरपुर मात्रामा प्रयोग गर्दैनौं ।

जबसम्म संकट आउँदैन, आपत–विपत आउँदैन, तबसम्म हामी आफ्नो क्षमताको उपयोग नै गर्दैनौं । एउटा भनाई छ, ‘बिपत्तीहरु हामीलाई सखाप गर्नका लागि आएका हुँदैनन् । बरु हामीभित्रको सामथ्र्य निकाल्नका लागि आएका हुन्छन् ।’

दुःखलाग्दो त के भने, हामी आफ्नो शरीरको शक्ति, उर्जा एवं क्षमता थाहा नपाई यो शरीरलाई त्याग्न पुग्र्छौं । अर्थात मृत्युको मुखमा पुग्र्छौं ।

मानव शरीर अद्भूत र शक्तिशाली छ भनी हाम्रा ऋषिमुनीहरुले सदियौं अघि खोज–अध्ययनबाट पुष्टि गरे । हुन पनि आज संसारमा जे–जति चमत्कार भएको छ, त्यो मान्छेले नै रचना गरेका हुन् । ति कुनैपनि कुरा अप्रत्यासित रुपमा घटित भएको वा प्राप्त भएको होइन । मान्छेको बुद्धि, विवेक, श्रम, मेहनत, दृढता, निरन्तरताबाट संभव भएका हुन् ।

यी खोज र उपलब्धीहरु त्यसबेला भएका छन्, जब मान्छेले कुनै समस्या वा संकट बोध गरेका छन् । समस्या वा संकटको हल खोज्ने क्रममा नै मान्छेले आफ्नो क्षमतालाई पूर्णताको साथ प्रयोग गरेका छन् ।

एउटा व्यक्तिले जब दृष्टि गुमाउँछ, उसले जिन्दगीको ज्योति खोज्न थाल्छ । अर्थात आफैभित्रको शक्ति र उर्जालाई खोज्छ, ताकि दैनिक जीवनयापन सहज होस् । त्यसैले त उनीहरु यति धेरै कुरा महसुष गरेरै थाहा पाउन सक्छन्, जो आँखा देख्नेहरुले गर्न सक्दैनन् । हामी आँखा चिम्लेर ति सबै कुराहरु त्यसरी नै पहिल्याउन सक्दैनौं, जसरी एउटा दृष्टिविहिनले सक्छ ।

जसरी हामीले आफ्नो आसपासका वतावरणलाई सुष्म रुपले महसुष गर्ने क्षमता गुमाइरहेका हुन्छौं, त्यसैगरी अरु कुराहरु पनि गुमाइरहेका हुन्छौं । प्रकृतिको ध्वनी, रुख–बिरुवा–माटोको सुगन्ध थाहा पाउने शरीरको क्षमतालाई पनि हामीले गुमाइसकेका छौं । किनभने कुनैपनि कुरालाई जति धेरै प्रयोग र अभ्यास गरिन्छ, उत्तिनै जागृत हुने हो । तर, हामी त अचेत अवस्थामा बाँचिरहेका छौं । त्यही कारण हाम्रो आफ्नै शरीरको क्षमताबारे पनि हामीले भेउ पाइरहेका छैनौं । हामी आफुसँग जुन कुरा छ, त्यो कुरा समेत हामीलाई थाहा छैन ।

कुनैपनि काम गर्ने तत्परता, उत्सुकता, उर्जा र जाँगरले हामीलाई आफ्नो शरीरको क्षमता बोध गराउँछ । चिन्तन, त्याग, साधना, श्रमबाट हामी आफ्नो क्षमतालाई उजागर गर्न सक्छौं । तब कतिपय संकट, अभाव, समस्याहरुलाई हामी अवसरमा बदल्न सक्छौं ।

एक पटक पढ्नुहोस