खाए मकै, नखाए भोकै !

‘खाए मकै, नखाए भोकै’ यो उक्ति पहिलेको लागि पनि सान्दर्भिक थियो भने अहिले पनि उत्तिनै सान्दर्भिक छ । पहिले आर्थिक अभावले खान नपुग्नेको लागि भनिएको उक्ति अहिले मधुमेहका कारण गुलियो बार्नुपर्नेको लागि सान्दर्भिक भएको छ । मकै सर्वहारा खानेकुरा हो जसले न त कहिलै वर्गीय विभेदलाई साथ थियो न त कसैको स्वास्थ्य समस्याको कमजोरीलाई नै हेला ग¥यो ।

सम्पन्नशाली परिवारमा दुवै छाक चामलको भात खाने, मध्यमस्तरकाले कम्तीमा एकछाक मकै खाने र निम्न आय भएका मान्छेले कोदो खाने पहाडी संस्कृतिमा मकैको स्थान मध्यम स्थानमा छ । पाखोबारीमा समेत यसको उत्पादन राम्रो हुने भएकोले निम्न आर्थिक स्तर भएकाहरूको लागि पनि यो उपयुक्त खाना थियो ।

कहिलेदेखि सुरु भयो होला मकै खान ?

मकैको विश्वव्यापी उत्पादन, खपत र उपयोगको विषयमा न्युयोर्क एकेडेमी अफ साइन्सले गरेको अध्ययन रिपोर्टले आजभन्दा सात हजार देखि १० हजार वर्ष पहिलेदेखि नै उत्पादन सुरु भएको भन्ने दाबी छ ।

अहिले आएर विभिन्न प्रकारको मकै संसारभर उब्जनी गरिन्छ । यिनीहरूमा हुने महत्वपूर्ण भिन्नता भनेको रंगमा मात्रै हो । जस्तो संयुक्त राज्य अमेरिकामा उत्पादन हुने कुल मकैमध्ये रातो मकैको हिस्सा ६०-६५ प्रतिशत छ ।

मकै ठाउँ अनुसार सेतो, पहेँलो हुँदै कालो रंगसम्मको हुन सक्छ । संयुक्त अधिराज्यमा उत्पादन गरिने धेरै मकै पहेंलो रंगको हुन्छ भने अफ्रिका, मध्यअमेरिका र दक्षिणी अमेरिकाका मानिसहरूले सेतो मकै धेरै मन पराउँछन् ।

के-के पौष्टिक तत्व पाइन्छ मकैमा ?

मकैमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, ग्लुकोज तथा बढी प्रोटिन, क्याल्सियम, मिनरल, फस्फोरस आदि तत्व पाइन्छ । मकैमा मुख्यतः कार्बाेहाइड्रेड पाइन्छ । त्यसबाहेक मकैमा प्रोटिन र चिल्लो पदार्थ पनि हुन्छ, जुन शरीरको लागि अतिआवश्यक पोषक तत्वहरू हुन् । मकै खासगरी पहेँलो, सेतो र फिक्का बैजनी रंगको हुन्छ । पौष्टिक तत्वका हिसाबले सबै रंगका मकै उत्तिकै पौष्टिक हुन्छ ।

सामान्यतया १०० ग्राम पहेँलो मकैमा निम्न पोषक तत्व पाउने गरिन्छ ।

क्यालोरी ९६ प्रतिशत

पानी ७३ प्रतिशत

प्रोटिन ३.४ ग्राम

कार्बाेहाइड्रेड २१ ग्राम

चिनी ४.५ ग्राम

फाइबर २.४ ग्राम

चिल्लो १.५ ग्राम पाउन सकिन्छ ।

कसले उत्पादन गर्छ धेरै मकै ?

मकै उत्पादन र उपभोगको हिसाबले कहाँ कहाँ प्रयोगमा आउला ? कतिपयलाई लाग्न सक्छ यो सिंगो नेपालको विशेषगरी पहाडी भेगमा बढी उत्पादन हुने खाद्यबाली हो । तर यो केवल नेपालमात्रै नभएर विश्वका शक्तिशाली भनिएका देशले समेत अरबौं रुपैयाँको मकै उत्पादन गर्ने गरेको छ । मकैको बारेमा केही जानकारी तल प्रस्तुत गरिएको छ ।

कहिले लगाउने ? के–के बनाउने ?

मकै लगाउनको लागि पानी नजम्ने र सुख्खा मलिलो माटो आवश्यक हुन्छ । यस्तो भएमा मकैको लागि यही वातावरण उपयुक्त भन्ने हुँदैन । तर माटो अनुसार विभिन्न जातका मकै भने लगाउन सकिन्छ ।

मकै लगाउनको लागि उपयुक्त समय भनेको माघ फाल्गुनको समय हो । यसमा तराई, भित्री मधेश, मध्यपहाड, उच्च पहाडीभेग आदिमा भिन्दाभिन्दै जातको मकै लगाउन सकिन्छ । मकैबाट ढिंडो, रोटी, चिउरा, च्याँख्ला आदि परिकार बनाएर खान पनि सकिन्छ ।

नेपालमा मकै खपतको तथ्यांक

आर्थिक वर्ष २०६६-६७ मा खाद्यान्नको रूपमा प्रयोग गर्ने १३ करोड ४३ लाख २९ हजार केजी मकै नेपालले आयात गरेको थियो । त्यसको एक दशकपछि गत आर्थिक वर्षमा खाद्यान्नको लागि प्रयोग गरिने २ करोड २५ लाख ७६ हजार केजी मकै विभिन्न देशबाट आयात भयो ।

मकैका विभिन्न स्वरूपलाई नेपालमा आयात गर्ने गरिन्छ । जस्तो अघिल्लो आर्थिक वर्षमा मकैको ७ लाख ८१ हजार किलो पिठो आयात भएको थियो । मकैको बिउ मात्रै ९ लाख ८३ हजार किलो, मकैको फूल ५०० किलो र ६७ हजार ५३५ किलो टुक्रा(दाल जसरी टुक्राइएको) मकै विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सन् २०१९ को एक वर्षमा नेपालमा २५ लाख टन मकै उत्पादन भएको विश्व बैङ्कको तथ्यांकमा उल्लेख छ, जबकि १९७० अर्थात् आजभन्दा ५० वर्ष पहिले नेपालमा मकै उत्पादनको हिस्सा ८ लाख ३३ हजार टन रहेको थियो ।

अहिले विश्वभरि उत्पादन हुने मकैको दुईतिहाइ हिस्सा अमेरिका, चीन, ब्राजिल र अर्जेन्टिनामा उत्पादन हुने मकैले ओगट्ने गरेको छ ।

महादेशको हिसाबले सबैभन्दा धेरै उत्पादन हुने उत्तर अमेरिका र त्यसपछि एसिया रहेको छ । एसियामा हुने मकै उत्पादनमा सबैभन्दा धेरै चीनमा र त्यसपछि भारतमा धेरै मकै उत्पादन हुने गर्छ ।

एक पटक पढ्नुहोस