After header

केपी ओलीको प्रस्ताव : सल्लाहमै पार्टी फुटाऔं !

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ ।

शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा सचिवालयका एक नेताले अनलाइनखबरलाई बताए ।

‘प्रधानमन्त्रीज्यूले अस्ति फोनमा पनि प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भन्नुभएछ, हिजो बालुवाटारको भेटमा पनि त्यसै भन्नुभएछ’ ती सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘आजको फोनवार्तामा पनि प्रधानमन्त्रीज्यूले प्रचण्डलाई त्यसै भन्नुभएछ ।’

प्रचण्डले ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन मिल्छ ?’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेको ती नेताको भनाइ छ ।

विगत ११ दिनको सम्वादहीनतालाई चिर्दै शनिबार बालुवाटारमा दुई अध्यक्षवीच छलफल भएको थियो । त्यसअघि दुई अध्यक्षवीच फोनमा कुराकानी भएको थियो । आइतबार पनि ओली र प्रचण्डवीच फोन सम्वाद भएको थियो । नेताहरुका अनुसार यी सबै सम्वादहरुमा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्रको अन्तरविरोध एकाएक सघन बनेको हो ।

ओलीले पार्टी फुटाउन चाहेकै हुन् ?

प्रधानमन्त्री ओलीले मनोवैज्ञानिक दबावका लागि प्रचण्डलाई त्यसो भनेका हुन् वा उनले साँच्चै नै पूर्वएमालेको पुनर्गठन गर्न चाहेका हुन् ? कर्णालीमा आइतबार हुन लागेको मन्त्रिपरिषद हरेफेरका कारण प्रधानमन्त्रीले आक्रोश प्रकट गरेका मात्रै पो हुन् कि ?

यी प्रश्नमा नेकपाका सचिवालय सदस्य भन्छन्, ‘कर्णालीको कारणले मात्रै होइन, प्रधानमन्त्रीज्यूले शनिबार पनि प्रचण्डसँग यो प्रस्ताव राख्नुभएको छ र त्यसअघिको फोन सम्वादमा पनि यही भन्नुभएको छ, जबकि कर्णालीको विवाद आइतबार बिहानमात्रै चर्चामा आएको हो ।’

पूर्वमाओवादी खेमाका नेताहरुको दाबीअनुसार केपी ओलीले माओवादीसँग सम्बन्ध विच्छेद गर्ने गृहकार्य थालेको केही प्रमाणहरु छन् ।

एक पटक पढ्नुहोस