वैवाहिक जीवनमा पनि एक्लोपन ?

विवाहपछि मान्छेले आफ्नो सुख–दुःख साट्ने अत्यान्तै निकटका भरपर्दो साथी पाउँछन् । श्रीमान श्रीमती भएपछि उनीहरुले एकअर्कासँग हरेक कुरा साझेदार गर्छन् । एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीम अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ । त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ ।

तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको शिकार बन्दै गएको पाइन्छ । एक शोध अनुसार २० प्रतिशत दम्पती वैवाहिक जीवनमा पनि एक्लोपन महसुष गरिरहेका छन् ।

एक्लोपन आफैमा समस्या हो । यहाँ बुझ्नुपर्ने कुरा के छ भने एकान्त वा एक्लो हुनु र एक्लोपन महसुष गर्नु फरक कुरा हुन् । कसैले नितान्त एक्लो भएर पनि एक्लोपन महसुष गर्दैनन् । वा गर्नुपर्दैन । कसैले भने भिडमा पनि आफुलाई एक्लो महसुष गर्छन् । यो एक कमजोर मानसिक स्थिती हो । जब मान्छेले आफुलाई एक्लो महसुष गर्न थाल्छ उनीहरुमा असुरक्षाको भावना बढ्छ । हरेक कुरामा उनीहरु भयभित हुन थाल्छन् ।

मान्छेको स्वभाव के हो भने कुनैपनि कुरा एकअर्कमा साझेदार गरेर बाँच्ने । दुःखको स्थितीमा मान्छेले अरुको साथ वा सहयोग खोज्छ । आफ्नो दुःखबाट छुटकारा पाउनका लागि अरुको सुझाव, सहयोग जरुरी हुन्छ । यसैगरी मान्छेले खुसीमा पनि अरुको साथ खोज्छ । आफ्नो खुसीमा रमाउने मान्छेहरु खोज्छन् । यसरी मान्छे अरुसँग अन्र्तक्रियात्मक सम्बन्ध बनाएर बाँच्ने यत्न गरिरहेका हुन्छन् । जबकी मन्छेले एक्लोपना महसुष गर्छ भने उनीहरु क्रमस निरास, उदास, भयभित, वेचैन हुन थाल्छन् । अन्ततः यसले उनीहरुलाई चरम चिन्ता र डिप्रेसनको अवस्थामा पु¥याउँछ । र, यो आत्महत्याको कारण पनि बन्न सक्छ ।

जब कसैले विवाह गर्छ उनीहरुले आफ्नो सुखदुःख साट्ने जीवनसाथी पाउँछन् । उनीहरुले आफ्नो परिवारको रचना गर्छन् । दाम्पत्य सम्बन्ध, घर व्यवहार, बालबच्चा, पारिवारिक जीवनमा रमाइरहँदा उनीहरुले एक्लोपन महसुष गर्दैनन् । आम धारणा यही छ । तर, कतिपय दम्पती भने एकसाथ भएर पनि एक्लो अनुभव गरिहेका छन् । यसमा अनेक कारण छन् ।

१. श्रीमान वा श्रीमतीको बढ्दो महत्वकांक्षा

२. पारिवारिक जीवनबाट विमुख हुने स्वभाव

३. व्यस्तता वा धपेडीमा वित्ने दिनचर्या

४. प्रतिस्पर्धात्मक जीवन यापन

५. मोवाइल जस्ता प्रविधि र सामाजिक सञ्जालको बढ्दो आशक्ति

टुट्दैछ संवाद

बिहान श्रीमान÷श्रीमतीलाई आफ्नो कामधन्दामा लाग्ने हतारो हुन्छ । बिहानै उनीहरु छुट्छन् । दिनभर आ–आफ्नै कामव्यवहारमा लाग्छन् । साँझ थकित ज्यान लिएर घर फर्कन्छन् । त्यसपछि कोही मोवाइल, फेसबुकमा भुल्छन्, कोही दिनभर थाँती रहेको काम पुरा गर्नतर्फ लाग्छन् । उनीहरुबीच एकसाथ खाना खाने समय पनि जुर्दैन । राती एकसाथ ओछ्यानमा जाने साइत मिल्दैन । ओछ्यानमा पनि दम्पतीको बिचमा घुस्रिएको हुन्छ, मोवाइल ।

यसरी उनीहरु एकअर्कासँग अन्तरंग कुराकानी गर्दैनन् । एकअर्काको सुखदुःखबारे सोध्दैनन् । घर परिवारकै विषयमा कुरा गर्न समेत रुची हुँदैन । यो क्रम बढ्दै जाँदा उनीहरु वैवाहिक जीवनमा पनि एक्लो हुँदै जन्छन् ।

एक्लोपनको कारण

–अहिले मानिसको जीवन धेरै नै व्यस्त हुन थालेको छ । धेरैजसो विवाहित जोडीहरु कामकाजी हुन्छन् र उनीहरुको अधिकांश समय कार्यालयमा सहकर्मीको साथमा बित्छ । यस्तोमा उनीहरुले आफ्नो जीवनसाथीलाई दिने समय धेरै कम हुन्छ ।

–कामको तनाव धेरै बढ्नाले संवाद कम हुन्छ ।

–घरमा पनि दुवै आ–आफ्नो काममा नै व्यस्त हुन्छन् ।

–सामाजिक सञ्जालले यस बढ्दो एक्लोपनालाई अझै बढाईदिन्छ । किनभने त्यहाँ नयाँ साथी भेटिन्छन् र उनीहरुले धेरै आकर्षित गर्छन् । यस्तोमा कहिले हामी पार्टनरलाई उपेक्षा गर्न लाग्छौं थाहा नै हुँदैन ।

–श्रीमान श्रीमती सँगै बसेर कुरा गर्ने एक अर्काको समस्यालाई बुझ्ने जस्तो कुरा त समयको बर्बादी जस्तो लाग्छ ।

–कुरा जब हदभन्दा धेरै बढ्छ तब वैवाहिक सम्बन्धमा हुँदा पनि हामी कति एक्लो छौं भन्ने महसुस हुन्छ ।

–बिस्तारै आफ्नो पार्टनर यी दिनहरुमा के महसुस गरिरहेका छन् वा कुन समस्याबाट गुज्रिरहेका छन् भन्ने पनि ख्याल हुन छोड्छ ।

–बढ्दो एक्लोपनाको असर यौनजीवनमा पनि पर्छ । त्यस्तै कम हुँदै गएको यौन सम्बन्धले पनि एक्लोपनालाई बढाउन सक्छ त्यसैले दुवै तर्फबाट यसलाई देख्न सकिन्छ ।

–घरमा पनि हरेक समय दुवै जना आफ्नो फोन वा ल्यापटपमा व्यस्त रहन्छन् चाहे खानाको समय होस् वा बेडमा सुत्ने समय होस् । बेडरुम यस्तो ठाँउ हो जँहा पार्टनरले एक अर्कासँग प्रेम र रोमान्स गर्न सक्छन् । आफ्नो समस्याहरु, आफ्नो सुखदुख सेयर गर्न सक्छन् तर, उनीहरु आजभोली बेडरुममा पनि एकअर्कासँग नजिक नभई आ–आफ्नो दुनिँयामा हराउँछन् । पछि थाहा हुन्छ कि एक अर्काबाट उनीहरु कति टाढा भइसकेका छन् ।

एक पटक पढ्नुहोस